सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकाम अझैं पनि बालीघरे प्रथा कायम छ ।
ठाटीकाँधसहित जिल्ला विभिन्न क्षेत्रमा करिब डेढ सय बढी परिवार बालीमै आफ्नो श्रम बेच्न बाध्य छन् ।
आरन चलाएर गुजारा चलाउने उनीहरू श्रमको मूल्य नपाएको गुनासो गर्छन् ।
ठाटीकाँध-२ का रघे लुवारलाई गाउँमा सबैले (आरन्या रघ्या बाजे) भनेर चिन्छन् ।
उमेरले ७४ पुगे । तर अहलिे पनि उनले आरनको काम गरिरहेकै छन् ।
‘गाउँपालिका १ र २ वडाका करिब चार सय घरधुरीबाट भाडावर्तन ल्याएर आउँछन्,’ उनले भने,
‘बिहान पाँच बजे उठ्छु । एक जना प्रति दश देखि १२ वटा आँसी(हसिया) कोदाला बनाउँदै र धार लाउदै १२ बजेको पत्तै हुँदैन ।
यसरी बिहानैदेखि काम गर्दा पनि साँझ बिहानको छाक टार्नै मुस्किल हुन्छ । श्रमअनुसारको ज्याला मिल्दैन ।’
पूर्खाले गर्दै आएको काम उनले १५ वर्षको उमेरदेखि गर्दै आएको सुनाए ।
‘पहिले बाबु-बाजेले गर्दै आएका थिए ।
सानै उमेरमा साहुको घरमा हलो जोत्ने, मल फाल्ने, बाली लगाउने काम गरेँ,’ उनले भने,
‘पछि पन्ध्र/सोह्र वर्षको उमेरमा साहुको काम छोडेर बाबुबाजेकै पेशा रोजेँ ।’
दैलेख ठाटीकाँधको गैरेगाँउ, विशाला, माचखर्क, लकान्द्र, तोलीजैसी, आग्र, भम्क,
पाँचलालगायतका करिब ४०/४५ घर भन्दा बढी परिवार आरनकै भरमा गुजारा चलाउन बाध्य छन् ।