ओशो तपोवनले ‘राष्ट्रका लागि तपोवन‘ नामक एक अभियान प्रारम्भ गरेको छ ।
व्यक्तिले आफ्नो दैनिक जीवनमा गर्ने हरेक काममा अध्यात्मलाई जोड्दा
सो व्यक्ति स्वयममा रुपान्तरण भई उसको जीवनशैली, व्यावसायिक जीवनमा
उत्पादनशीलता र प्रभावकारिता बढेर समाज र राष्ट्रमै एक सकारात्मक सन्देश प्रवाह हुनसक्छ
भन्ने उद्देश्य लिएर यो अभियान थालनी गरिएको तपोवनले जनाएको छ ।
प्रकृतिको अनुपम सौन्दर्यको बीचमा अवस्थित ओशो तपोवनमा आयोजित
यो अभियान २६ घण्टाको एक प्रयोगात्मक, व्यवहारिक र अध्यात्मिक कार्यक्रम हो ।
विभिन्न सेसनहरुमा विभक्त गरी सञ्चालन गरिएको सो कार्यक्रममा
सहभागीलाई ध्यानका विविध विधिको साथमा सकारात्मक सोचको विकास एवम्न
कारात्मक सोचको जडमूल पत्ता लगाई त्यसलाई निर्मूल पार्ने व्यवहारिक अभ्यासहरु गराइएको थियो ।
सहभागीहरुलाई अनावश्यक गम्भिरताबाट मुक्त भई हाँसो, खुसी र आनन्दित भई
सहज जीवन जिउने कला पनि उक्त अवसरमा सिकाइएको तपोवनले जनाएको छ ।
पछिल्लो समयमा तीव्रताका साथ विश्वव्यापी रुपमा बढिरहेको महामारी मानसिक तनाव न्यूनिकरण गर्ने विभिन्न प्रभावकारी उपायहरु सिकाइएको थियो ।
ओशोको ‘जोर्वा दि बुद्ध’ दर्शनमा आधरित ‘राष्ट्रका लागि तपोवन’
नामक यस अभियानको पहिलो श्रृंखलामा राष्ट्रका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिको सहभागिता रहेको थियो ।
सहभागीहरुले २६ घण्टाको छोटो समय मै पनि आफ्नो मानसिक तनाव विसर्जन गर्दै
सकारात्मक सोचको वृद्धि र अध्यात्मिक जागरण आफूभित्र जागृत भएको प्रतिकृया दिएका छन् ।
हरेक १५–१५ दिनमा ओशो तपोवनले सञ्चालन गर्ने यो अभियानमा
समाजका जुनसुकै वर्ग, उमेर र तहका व्यक्तिले सहभागिता जनाउन सक्नेछन् ।
बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहेको यस अभियानको अवधारणा स्वामी आनन्द देव
(भवन भट्ट) को रहेको छ भने संयोजक स्वामी आनन्द अर्हत र सोविता सिम्खडा रहेका छन् ।
पहिलो श्रृंखलाका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै अभियानका
प्राचार्य बोधिसत्व स्वामी आनन्द अरुणले एक कप चियामा एक चम्चा चिनी मिसाउँदा
आउने मिठास जस्तै जीवनमा अध्यात्म मिसाउँदा जीवन नै मिठो र सार्थक हुने बताए ।
आम मानिसले गरेका साना तिना कामलाई हामी संसार ठान्ने तर जीवनको समग्रतामा
हेर्दा त्यो अत्यन्तै मूल्यहीन हुने भएकाले अनावश्यक भागदौड र तनाव नलिन पनि उनले सुझाव दिए ।

