त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षा स्थगित गरेको छ ।
आयोगले आगामी भदौ १५ गतेबाट परीक्षा हुने तालिका सार्वजनिक गरेको थियो ।
‘भदौ १५ गतेदेखि सञ्चालन गरिने लिखित परीक्षा आयोगको निर्णयबमोजिम
विशेष कारणवश स्थगित गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’
आयोग प्रमुख केदारनाथ ढकालले विज्ञप्तिमा भनेका छन् ।
को’भिड–१९ म’हामा’रीका कारण तत्काल परीक्षा स्थगित गरिएको जनाइएको छ ।
आयोगले यसपालि सबैभन्दा बढी व्यवस्थापन संकायमा शिक्षण जनशक्ति माग गरेको थियो ।
व्यवस्थापन संकायतर्फ जनप्रशासन र व्यवस्थापन विषयमा ८३ पदमा आवेदन आह्वान गरिएको थियो ।
विभिन्न संकाय र अध्ययन संस्थाअन्तर्गत ५ सय ८० पदमा दरखास्त आह्वान गरिएको थियो ।
आयोगबाट प्राप्त जानकारी अनुसार सबैभन्दा धेरै चिकित्साशास्त्रअन्तर्गत ४० विषयमा
५५ पद खुला गरिएको थियो । मानविकी तथा सामाजिक शास्त्रअन्तर्गत २४ विषयका निम्ति १ सय ३ पद खुला गरिएको थियो ।
सबैभन्दा धेरै अंग्रेजी विषयमा २५, नेपालीमा ८, अर्थशास्त्रमा १५ र समाजशास्त्रको १२ पदमा आवेदन खुलाइएको थियो ।
यस्तै, वनविज्ञानमा ३ विषयका निम्ति तीन पदमा आवेदन खुला गरिएको थियो ।
विज्ञान तथा प्रविधितर्फ १५ विषयका निम्ति १ सय ६८ पद खुला गरिएको थियो ।
शिक्षाशास्त्रतर्फ १६ विषयका निम्ति ७४ पद खुला गरिएको थियो ।
त्रिवि सेवा ऐनअनुसार डिन कार्यालय र संकाय बोर्डले विषयको आवश्यकता पुष्टि गरी दरबन्दी सिर्जना गर्दछ ।
उपकुलपतिको अध्यक्षता रहने एकेडेमिक काउन्सिलले सिफारिस गरेपछि
त्रिवि कार्यकारी परिषद्ले सेवा आयोगलाई विज्ञापन गर्न अनुमति दिन्छ ।

