सरकारले पूर्णता पाउन अझै दुई साता लाग्ने भएको छ ।
सत्तारूढ गठबन्धनबीच माधवकुमार नेपाल नेतृत्वको दललाई
दुई साता कुर्ने समझदारी भएकाले सरकारले पूर्णता पाउन दुई साता लाग्ने भएको हो ।
बिहीबार बिहानै बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा,
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी)
पार्टीका संयोजक माधवकुमार नेपालबीच भएको छलफलमा सरकार
विस्तारबारे अझै दुई साता कुर्ने समझदारी बनेको हो ।
निर्वाचन आयोगले एमाले (समाजवादी) को आधिकारिकताबारे
छिनोफानो नगरी मन्त्रिपरिषद्लाई पूर्णता दिँदा पछि समस्या
हुन सक्ने भएकाले यस्तो समझदारी गरिएको बताइएको छ ।
बिहीबार नै काठमाडौंमा भएको एक कार्यक्रममा माओवादी केन्द्रका
अध्यक्ष प्रचण्डले नेता नेपालको नयाँ पार्टीले आधिकारिकता पाएलगत्तै
मन्त्रिपरिषद् विस्तार हुने खुलासा गर्नुभएको छ ।
मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न नहुने विषयमा समझदारी बनेको जानकारी दिँदै उहाँले भन्नुभयो–
‘दर्ता भएको पार्टीको सनाखत हुनेबित्तिकै एकै दिनमा मन्त्रिपरिषद्को टुंगो लाग्छ ।’

