मेगा क्यापिटल लिमिटेडले भदौ ४ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे मेगा
म्युचुअल फण्ड-१ मा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेकाे छ ।
१० वर्ष अवधि भएकाे याे एउटा बन्दमुखी योजना हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुल्ला गरेकाे हो ।
कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्धक मेगा बैंकलाई
सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ ।
लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा
वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट तथा एपबाट आवेदन दिन सक्नेछन् ।
यसैबीच गत आर्थिक वर्षमा विकास बैंकहरुले ६५ प्रतिशतले नाफा बढाएका छन्।
विकास बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत
वित्तीय विवरण अनुसार गत एक वर्षमा बैंकहरुले नाफा ६४.९१ प्रतिशतले बढाएका हुन्।
अघिल्लाे वर्ष ३ अर्ब ६७ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका विकास बैंकहरुले गत
वर्ष ६ अर्ब ५ करोड १२ लाख नाफा कमाएका छन जुन २ अर्ब ३८ करोड ५८ लाख रुपैयाँले धेरै हो।
गत वर्ष दुई विकास बैंक घटेका छन्। अघिल्लो वर्ष १९ वटा विकास बैंक सञ्चालनमा रहेकोमा कन्चन डेभलपमेन्ट बैंकलाई
एनएबि बैंक र तीनाउ मिसनलाई सिटिजन्स बैंकले गाभेको छ।
दुई विकास बैंक घट्दा पनि विकास बैंकहरुको नाफा भने उच्च रुपले बढेको छ।
गत वर्ष मुक्तिनाथ विकास बैंकले खुद नाफामा तीनवटा वाणिज्य बैंकलाई पछि पारेको छ।
मुक्तिनाथ मात्रै होइन गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक,
कामना सेवा विकास बैंकले समेत केहि वाणिज्य बैंकभन्दा धेरै नाफा कमाएका छन्।