सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (भदाै १८ गते, शुक्रबार)
बाट आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।
यसअघि साउन २२ गते, शुक्रबारदेखि बिक्री खुल्ला गर्ने भनिएकाे
साधारण सेयर (आईपीओ) कोरोना भाइरसकाे संक्रमणका कारण
ईलाम जिल्लामा पनि निषेधाज्ञा जारी गरिएकाे हुनाले स्थगित गरिएकाे थियाे ।
कम्पनीलाई सेबाेनले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख
रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति दिएकाे छ ।
जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको
लागि ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
निष्कासन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना
प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी
४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम
नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि छुट्याइएकाे छ ।
कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।
यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि
छिटाेमा असाेज १ गतेदेखि ढिलाेमा असाेज १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गरेकाे छ ।
लगानीकर्ताले नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक
र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या
बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

