नेप्सेमा सूचीकृत ३ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज (कात्तिक ११ गते) अन्तिम दिन रहेको छ ।
आशा, स्वरोजगार र सिभिल लघुवित्तले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी तीन लघुवित्तले साधरणसभा प्रयोजनका लागि भोलि (कात्तिक १२ गते) बुकक्लोज मिति तोकेका छन् ।
तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
आशा लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कात्तिक २७ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।
आशाले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।
त्यसैगरी, स्वरोजगार लघुवित्तले गत आवको नाफाबाट २५ प्रतिशत बोनस सेयर लाभांश दिने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश पारित गर्न लघुवित्तले कात्तिक २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, सिभिल लघुवित्तले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी २० प्रतिशत गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ ।
सो लाभांश पारित गर्न सिभिलले कात्तिक २८ गते १० औं वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तको सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा हुनेछ ।
तीनै लघुवित्तको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

