पछिल्लो समय शेयर बजारमा कारोबार रकममा वृद्धि भएको छ । शेयरमा पछिल्लो केही दिनदेखि दोस्रो बजारमा कारोबार रकम बढ्दै गएको छ। पुसको अन्तिम सातादेखि कारोबार रकम बढ्दै गएको हो।
गएको दुई महिना यता कारोबार रकम एक अर्ब ८२ करोड रुपैयाँसम्म झरेको थियो। माघ लागेसँगै दोस्रो बजारमा कारोबार रकम बढेर नौ अर्ब हाराहारीमा उक्लिएको छ। ोसँगै कारोबार बढ्नुको रहस्यबारे चर्चा हुन थालेको छ ।
लगानीकर्ताले बिस्तारै मार्जिन लोन पाउन थालेका छन्। बैंक वित्तीय संस्थाबाट शेयर धितो राखेर लगानीकर्ताले ऋण पाउन थालेका हुन्।
जानकारहरुका अनुसार शेयर ऋण मार्फत बजारमा पैसा आउन थालेपछि यस्तो अवस्था आएको हो । बिस्तारै लगानीकर्ताले शेयर ऋण सहजै पाउने वातावरण बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जाको ब्याजदर भने बढाएका छन्।
पछिल्लो समय ११ प्रतिशतभन्दा तल शेयर ऋण पाउन छाडेको छ। यसअघि लगानीकर्ताले सहजै आठ प्रतिशतसम्म ब्याजमा ऋण पाउने गरेका थिए।
तर उक्त ब्याजदर भने बैंक अनुसार फरक छन्। कुनै बैंक वित्तीय संस्थाले साढे १२ प्रतिशतसम्म पनि लिने गरेका छन्। बैंक र ऋणी बीच हुने सहमतिको आधारमा ब्याजदर तय हुने भएकोले पनि ब्याज निर्धारण लगानीकर्ताले गर्ने बार्गेनिङमा तय हुन्छ।
यसअघि सिडी रेशियो र तरलताका कारण बैंक तथा वित्तीय संस्थाबाट शेयर ऋण पाउन मुस्किल हुने गरेको थियो। यसअघि जति पटक नयाँ ऋण माग्न गए पनि बैंक तथा वित्तीय संस्थाले सिडी रेशियो र तरलताको अभाव देखाउँदै लगानीकर्तालाई फर्काउने गरेका थिए।
तर यति बेला भने बैंक वित्तीय संस्थाले नयाँ ऋणको फाइल अघि बढाउन थालेका छन्। तर लगानीकर्ताले माग गरे भन्दा आधा मात्रै बैंकहरुले ऋण स्वीकृत गर्ने गरेका छन्। पर्याप्त रकम नभएकोले यतिमै चित्त बुझाउन बैंकहरुले अनुरोध गर्ने गरेका छन्। लगानीकर्ताले पाउँदै नपाउनु भन्दा आधा नै भएपनि पाउँदा सहजै मानेका छन्।
लगानीकर्ताले शेयर लोन पाउन थालेको विषयमा ब्रोकर कम्पनी भिजन सेक्युरिटिज पनि सहमत छ। पछिल्लो समय लगानीकर्ताले शेयर लोन पाउन थालेसँगै कारोबार रकम समेत बढ्दै गएको सेक्युरिटिजको भनाइ छ।
“पछिल्लो समय लगानीकर्ताले लोनको पैसा बजारमा राम्रै गरी लगाउन थालेका छन्। कारोबार रकम बढ्दै जानुको कारण पनि यही हो,” सेक्युरिटिजका एक अधिकारीले भने।
बैंक तथा वित्तीय संस्थाले भने शेयर लोन रोकिँदै नरोकिएको बताएका छन्। बरु पछिल्लो समय ब्याज भने थोरै थोरै वृद्धि भएको एक बैंकका शेयर शाखा प्रमुखले बताए।
“कुनै पनि किसिमको ऋण बैंकले रोकेकै छैनन्। नियामकिय प्रावधान भित्र रहेर ऋण उपलब्ध गराउँदै आएका छौ। तर केही ठाउँमा भने राष्ट्र बैंकले नै नदिनु भन्ने निर्देशन दिएकाले त्यस्ता ठाउँमा भने ऋण दिन रोकिएको छ। शेयर ऋण त रोकिएकै छैन।
बरु चार करोड भन्दा माथि भने दिइएको छैन। कसैले करोड माथि माग गरेको छ भने उनीहरूलाई थोरै कम गर्ने गरिएको छ। तर एक करोड मुनी माग गर्नेले भने माग अनुसार नै ऋण पाउँदै आएका छन्,” ती बैंकरले भने।
यी तथ्यहरुबाटै पछिल्लो समय लगानीकर्ताले शेयर लोन पाउन थालेको र कारोबार रकम समेत बढ्दै गएको आँकलन गर्ग थालिएको छ ।

