नेकपा माओवादी कैन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा प्रदेश २ ले भने सोमबार ‘मधेस’ प्रदेश नाम पाएको बहस हुन थालेको छ । ‘मधेस’ नाम प्रदेश संसदबाट दुई तिहाइ बहुमतले पारित भएको हो ।
पारित हुनुमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को मुख्य भूमिका रहेको चर्चा हुन थालेको छ । प्रदेश १ मा एक सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ पनि प्रचण्ड नेतृत्वको माओवादीकै कारण मधेस प्रदेश सम्भव भएको बताउँछन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘।।।कहिलेकाहीँ फुट पनि फलदायी हुन्छ । नेकपा नफुटेको भए माओवादी केन्द्रले पनि यसरी मधेसको पक्षमा भोट हाल्न पाउने थिएन ।’
यसरी अध्यक्ष लिङ्देनले मधेस प्रदेश संसददेखि बहुमतले पारित हुनुको पछि प्रचण्डको भूमिका रहेको औँल्याए ।
मधेस मामिलाका जानकार तुलानारायण साह पनि नेकपा विभाजन नभएको भए र विभाजनपछि प्रचण्ड दह्रो गरी ‘मधेस’ प्रदेशको पक्षमा नउभिएको भए संसदबाट पारित नहुने बताउँछन् ।
प्रचण्डकै कारण ‘मधेस’ प्रदेशको पक्षमा भित्री माहोल तयार भएको साहको आकलन छ ।
‘नेकपा भएको भए प्रचण्डजी मधेस प्रदेशको पक्षमा उभिनुहुन्थेन । उनी अर्का अध्यक्ष ओलीले गरेको प्रस्तावको पक्षपाती हुनुपर्थ्यो । तर, विभाजन भएपछि उनी मधेस प्रदेशको पक्षमा उभिए’, उनले भने, ‘उनका पार्टीका प्रदेश सांसदहरू थपिँदा दुई तिहाइनजिक बहुमत पुग्ने स्थिति देखियो र अन्य पार्टीबाट १७ जना सांसद थपिँदा दुई तिहाइ बहुमत पुग्यो र मधेस प्रदेश सम्भव भयो ।’
पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन एकीकृत नेकपा माओवादीले जातीय पहिचानका आधारमा गणराज्यहरूको नामकरण गरेको थियो । ताम्सालिङ, नेवा, खम्बुवान, लिम्बुवान, कोच, तमुवान, मगरात, खसान आदि गणराज्यको घोषणै गरेका थिए ।
त्यही भएर अझैसम्म प्रचण्डले जातीय राज्यको पक्षपाती भनेर गाली खाने गरेका छन् । तर, प्रदेश(२ को नाम ‘मधेस’ राख्न निर्णायक कदम चालेको भन्दै उनको चर्चा सकारात्मक र नकारात्मक दुवै पक्षबाट भइरहेको छ ।
यसअघि ४ चैत, २०७६ मा प्रदेश नामका लागि प्रदेश २ प्रदेशसभामा निर्वाचन भएको थियो । निर्वाचनमा तत्कालीन जसपाले ‘मधेस’ प्रदेश प्रस्ताव गरेको थियो ।
जतिबेला जसपाबाट नेता महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको थिएन । उक्त नामको पक्षमा १०७ सांसदमध्ये ६० सांसदले मतदान गरे । विपक्षमा ४६ मत खस्यो । आवश्यक १२ मतले दुई तिहाइ बहुमत पुगेन ।
तर, सोमबार ८ सांसद रहेको माओवादीले सोही प्रदेशको पक्षमा मतदान गर्ने भएपछि बहुमत पुग्नेगरी राजनीतिक माहोल बनेको थियो ।

