प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धनका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् ।
कोरोना संक्रमणको दर बढ्दै गइरहेका बेला प्रधानमन्त्री देउवासँग सत्ता गठबन्धनका शीर्ष नेताले भेटवार्ता गरेका हन् ।
प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
मल्लका अनुसार शीर्ष नेताले शुक्रबार अपरान्ह ४ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति गरेका छन् ।
‘बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको छ’, मल्लले भने, ‘सत्ता गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बोलाउने सहमति भएको छ ।’
बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको सत्तारुढ गठबन्धन बैठक स्थगित भएको थियो । गठबन्धनको बैठक स्थगित भएपछि शीर्ष नेता छलफलमा जुटेका हुन्।
यता, प्रतिपक्षी दल एमालेले निरन्तर रुपमा संसद अवरोध गरिरहेको छ । एमाले अध्यक्ष ओली गठबन्धन भत्किएको हेर्न चाहान्छन् ।
गठबन्धन झन् मजबुत भए आफू सत्तामा फेरि फर्किन कठिन हुने र आउँदो चुनावमा पनि धक्का लाग्नसक्ने उनको ठम्याइ छ ।

