सरकारले माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण देशैभर उच्च गतिमा बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो ।
अब, १६ देखि २० गतेसम्म कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरिएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृह मन्त्रालयमा मंगलवार भएको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने जानकारी दिए ।
विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।
यस्तै, त्रिभुवन विश्विद्यालय र लोक सेवा मातहतका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय भएको छ ।

