पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले एमसिसीको कुरा चर्को ढंगले उठेको बताएका छन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकपछि पत्रकारहरूसँगको साक्षात्कारमा प्रवक्ता महराले यस्तो बताएका हुन् ।
उनले बैठकमा एमसिसीको बारेमा चर्को बहस भइरहेकाले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र उक्त कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने बताए।
उनले भने, ‘एमसिसीको कुरा अलि चर्को ढंगले उठेको छ । हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ । कार्यदलको सुझाव लिएर आवश्यक परिमार्जनसहित हामी अघि बढ्ने छौँ ।’
बैठकमा तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्हरूसँग छलफल गरेर निष्कर्ष पुग्ने उनको भनाइ छ ।
आज बसेको बैठकले कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।
महरा सभामुख रहेका बेला एमसीसीको विपक्षमा थिए । उनले एमसीसी रोकेको भन्दै एमाले उनिमाथि खनिएको थियो । माओवादीले अब एमसीसीबारे कस्तो निर्णय गर्छ चाँसोको बिषय बनेको छ ।

