नेकपा एमालेलाई धक्का लागेको छ । एमालेबाट निर्वाचित एक वडाध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेपछि पार्टीलाई धक्का लागेको हो ।
अछामको तुर्माखाँद गाउँपालिका ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भए यता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको छ ।
एमालेमा १० भाइ समूहका नेताका रुपमा परिचित नेता डा.भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएको अवस्थामा एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै गएको अनेरास्ववियूका केन्द्रीय उपमहासचिव नरेश न्यौपानेले जानकारी दिए ।
एकीकृत समाजवादी अछामका सचिवालय सदस्य समेत रहेका न्यौपानेका अनुसार अछाममा एमालेका नेता र कार्यकर्ताहरु क्रमशः एमाले छाड्ने तयारी गरिरहेको र एकीकृत समाजवादीका नेताहरुसँग संवाद बढाइरहेका छन् ।
अछाममा सर्वसम्मत जिल्ला नेतृत्व टुङ्ग्याएको एकीकृत समाजवादीले सबै स्थानीय तह र वडाहरूमा आफ्ना कमिटी निर्माण गरिसकेको छ भने पछिल्लो समय टोल कमिटी निर्माणमा जुटिरहेको न्यौपानेको भनाइ छ ।


