कोरोना भाइरसको बढ्दो संक्रमणका बीच माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी अघि बढेको छ ।
शिक्षक सेवा आयोगका कारण एसईई सार्नुपर्ने पनि कुरा उठिरहेका बेला एसईई वैशाखमा लिने तयारी भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो ।
बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।
अध्यक्ष शर्माका अनुसार, परीक्षाको तालिका छिट्टै सार्वजनिक गरिनेछ । परीक्षाको मोडालिटीका विषयमा भने निर्णय हुन बाँकी रहेको उनले बताए ।
कोरोनाका कारण पठनपाठन केही ढिला सुरु भएकाले परीक्षा पनि केही ढिलो गराउन लागिएको उनले बताए ।
कोभिड–१९ को तेस्रो लहरका रूपमा फैलिएको ओमिक्रोन भेरियन्टका कारण त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
त्रिविको आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए ।
त्रिविको व्यवस्थापन संकायले आगामी शनिबार परीक्षा केन्द्र कायम गरी सिम्याटको परीक्षा सञ्चालन गर्ने भएको छ । अधिकाँश विद्यार्थीले कोभिड विरुद्धको भ्याक्सिन नलगाएकाले परीक्षा स्थगित गर्नुपर्ने माग राख्दै आएका थिए ।
सो संकायका डिन प्रा।डा। डिल्लीराज शर्माले माघ ८ गते सिम्याटको परीक्षा सञ्चालन हुने जानकारी दिए ।

