नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिमा भाग्यमानी नेता मानिन्छन् । उनी आफै पनि यसबारे बोलेका थिए । तर, जति उनी भाग्यमानी छन् उति नै सत्तामा पुग्दा दुर्भाग्यशाली घटना दोहोरिन्छन् ।
२०७४ सालको चुनाव हुँदा देउवा प्रधानमन्त्री थिए । उनले अन्तिम समयमा प्रचण्डबाट धोका पाए । प्रचण्ड केपी शर्मा ओलीसँग मिले । देउवाले चुनावमा धक्का खाए ।
अहिले देउवा प्रधानमन्त्री हुँदा चुनावलाई पछि धकेल्न खोजिदैछ । २०७९ मंसिरमा प्रतिनिधि सभाको कार्यकाल सकिने भएपनि फागुनमा धकेल्न खोजिदैछ । यसका लागि ऐन संशोधनको कुरा हुँदैछ ।
तर, अर्को वर्ष फागुनमा चुनावमा जाँदा प्रतिनिधिसभा विघटन गरेर जाने परिस्थिति बन्न सक्छ । स्थानीय निकाय पनि जनप्रतिनिधिविहिन हुनसक्छ ।
निर्वाचित निकाय विहिन बनाएर देशलाई लान खोज्दा अर्को संकटको खतरा पनि छ । देउवा अहिले प्रचण्डको रणनीति अनुसार चुनाव अर्को फागुनसम्म धकेल्न खोज्दैछन् ।
चुनाव जति धकेल्यो उति लामो समय प्रधानमन्त्री बन्न पाइने देउवाको बुझाई हुनसक्छ । तर, संविधान अनुसार समयमै चुनाव नगर्दा देउवाले राजनीतिमा अर्को असक्षमताको ट्याग भिर्नुपर्ने परिस्थिति बन्न सक्छ । प्रचण्डले यसमा पनि रणनीतिक चार्तुयता देखाइरहेका छन् ।
देउवाको हातबाट ओलीलाई कमजोर बनाई शक्ति सञ्चयमा प्रचण्ड लागेका छन् । लामो समय सत्ताबाट टाढा राखेर ओलीलाई कमजोर पार्ने र राजनीतिक शक्ति आर्जन गर्ने उनको रणनीति सफलतातर्फ बढिरहेको देखिन्छ ।
यसरी देउवाले बेलैमा चेत पुर्याउन सके भने उनी फेरि अर्को खेलमा सफल हुन सक्छन् नत्र गठबन्धनबाटै उनीमाथि घात हुनसक्ने देखिन्छ ।

