प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बलको सेवासुविधा बढाउने तयारी गरेका छन् ।
सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित ‘२१औं सशस्त्र प्रहरी दिवस २०७८’ विशेष समारोहमा सरिक हुँदै प्रधानमन्त्री देउवाले एपीएफको वृत्ति विकास गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
देउवाले सीमित स्रोत साधनको बावजुद समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको सशस्त्र प्रहरीको सांगठनिक विकास विस्तारलगायत वृत्ति विकासको योजना तर्जुमा गर्न गृह मन्त्रालयलाई निर्देशन दिए ।
साथै हाल देखिएका सुरक्षा चुनौतीलाई परास्त गर्दै भविष्यमा आउन सक्ने चुनौतीहरुको समेत आंकलन गर्दै योजनाका साथ कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पनि निर्देशन दिए ।
समारोहमा गृहमन्त्री खाडले सशस्त्र प्रहरीको वृत्ति विकासका लागि सरकारले जस्तोसुकै व्यवस्था गर्न तयार रहेको बताए । उनले प्रधानमन्त्रीको निर्देशनका सम्बन्धमा काम अघि बढाइने जानकारी गराए ।
सुरक्षा बल बलियो भए देशको सुरक्षा बलियो हुने भन्दै सेवासुविधामा पुनर्विचार गरिने प्रतिबद्धता जनाए ।
गृहमन्त्री खाडले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई अझ कटिबद्ध र क्रियाशिल रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन दिए ।
उनले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र
नागरिकाको सेवा सुरक्षा, सीमा सुरक्षा, उद्वार, राहत विरतण लगायत राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा संगठन र राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले
निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कोभिड–१९ महामारीमा अग्रपंक्तिमा रहेर तथा नेपाल एपीएफ अस्पताल मार्फत संक्रमितहरुको उपचारमा पुर्याएको
योगदानले थुप्रै व्यक्तिले पुनर्जन्म पाएको स्मरण गर्नुहुँदै स्वास्थ्यकर्मी, सफाईकर्मी लगायत सम्वद्ध सबैप्रती हार्दिक आभार प्रकट गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारबाट निर्देशित लक्ष्य हासिल गर्न शान्ति सुरक्षा र अमनचयन कायम गरी आवश्यक सामाजिक
सद्भाव बनाई राख्न र सुशासन कायम गर्न सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै सशस्त्र प्रहरी बल, नेपाल अगाडी बढिरहेको उल्लेख गरे ।
उनले लैङ्गिकमैत्री वातावरणको सिर्जना, भ्रष्टाचारमा शून्य सहनशीलता, मानवअधिकारको सम्मान, संरक्षण एवं सम्वर्धन गर्दै नेपाल सरकारको शून्य
सहनशीलताको नीतिहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने कार्यमा सशस्त्र प्रहरी बल, नेपाल प्रतिबद्धताकासाथ अघि बढिरहेको बताउदै नेपाल
सरकारद्वारा निर्दिष्ट गरिएका आर्थिक, प्रशासनिक र अप्रेशनल नीतिहरुलाई अक्षरशः पालना गर्दै सबै सरोकारवाला निकायहरुसँग समन्वय र
सहकार्यकासाथ शान्ति सुरक्षालाई बलियो बनाउन एवं सुशासन कायम राखी विकासका पूर्वाधारहरुका लागि सुरक्षित वातावरण तयार गर्ने कार्यमा संगठन सदैव क्रियाशील रहँदै आएको बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले १ सय १० शैयाबाट हाल अस्थायी रुपमा ३ सय ५० शैयाको स्वीकृति प्राप्त नेपाल एपीएफ अस्पताललाई स्थायी स्वीकृति एवं आवश्यक जनशक्ति र श्रोतसाधन प्राप्त भएमा अस्पतालले थप प्रभावकारी कार्य सम्पादन गर्न सक्ने बताए ।

