एकीकृत समाजवादीमा प्रवेशको लहर नै चलेको छ । रामेछाप र रसुवाका युवाहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
हिजो उनीहरु विभिन्न पार्टीको जिम्मेवारी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
हिजो पार्टी प्रवेश कार्यक्रममा छुटेका रसुवाका केही युवाहरु एकीकृत समाजवादीको पार्टी कार्यालयमा आज दिउँसो २ बजे आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै छन् ।
उता रामेछापका केही काँग्रेसी र एमाले कार्यकर्ताहरु पनि प्रवेश गरेका छन् ।
बिहान साढे ११ बजे महाराजगञ्जस्थित ओराकल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनीहरुले समाजवादी रोजेका हुन् ।
तीनै तहको निर्वाचनमा सत्तारूढ पाँच दल मिलेर जाने
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब हुने तीनै तहको निर्वाचनमा सत्तारूढ पाँच दल मिलेर जाने बताएका छन् ।
रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउँदै उनले अबको चुनावमा सत्तारूढ गठबन्धनका पाँच दल सँगै जाने बताएका हुन् ।
उनले भने, ‘पाँच दल मिलेर चुनावमा जान्छौं, कात्तिक, मंसिरतिर केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा जान सकिन्छ ।’ अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।
आउँदो चुनावमा पनि यो गठबन्धन कायमै राखिने दाबी अध्यक्ष नेपालको थियो ।
लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न, गणतन्त्र बलियो बनाउन र विकासको नयाँ अभियान अगाडि बढाउन आफूहरु एक हुने उनको भनाइ छ ।
उनले अहिले नै चुनाव हुने अवस्था नरहेको पनि बताए । अध्यक्ष नेपालका अनुसार ०७९ चैतभित्र तीनै तहको चुनाव हुनेछ ।

