तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्न हातमा हात मिलाएर अघि बढेका पाँच दलीय सत्ता गठबन्धनका पार्टीहरु फुटको दिशातिर अघि बढेका छन् । जस्तो प्राप्ती भएपनि सन्तुष्टि नमिल्ने तथ्य राजनीतिमा पनि देखिन लागेको छ ।
तत्कालिन समयमा सरकार चलाउदा ओलीले एकलौटी गरेको भन्दै पार्टी फुटाउनसम्म अग्रसर भएका माओवादी अध्यक्ष प्रचण्ड फेरि नयाँ खेलमा लागेका छन् । आफूलाई अरूको मनलाग्दी मन नपरेपछि राजनीतिमा हुने भनेको यहीँ हो ।
सरकार बनाउने र ढाल्ने खेल । खासगरी स्थानीय तहको निर्वाचनलाई लिएर गठबन्धनमा मत विभाजित छ । कांग्रेसभित्रबाट स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने आवाज उठेको छ।
सभापतिमा पराजित डा। शेखर कोइराला समूहले त बैशाखमै निर्वाचन गर्नुपर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको ट्रयापमा पर्न नहुने आवाज उठाईसकेको छ ।
कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि स्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा मान्य नहुने चेतावनी दिएका छन् । तर, गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नहुने अडान लिएका छन् ।
खासगरी प्रचण्डले तीनै तहको निर्वाचन आगामी मंसिरमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । दाहालको प्रस्तावमा प्रधानमन्त्री देउवा पनि सकारात्मक बनेको चर्चा छ ।
उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि स्थानीय तहको निर्वाचनभन्दा अघि प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने पक्षमा खुल्न थालेको कुरा बाहिर आएका छन् ।
प्रधानमन्त्री देउवाले यो बीचमा कानूनविद्हरुसँग पनि परामर्श गरिसकेका छन् । उता, निर्वाचन आयोगले भने तत्काल निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको छ । प्रधानमन्त्री देउवा पनि स्थानीय तहको निर्वाचनको मिति तोक्नेगरि अघि बढेका छन् ।
तर, गठबन्धनमा आवद्ध दलका नेताहरु प्रचण्ड र माधव नेपालले भने स्थानीय तहको निर्वाचनको मिति तोकिए आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । उनीहरुले सरकार ढालिदिने पनि चेतावनी दिएको स्रोतको दाबी छ ।
सर्वोच्च अदालतको परमादेशपछि गठन भएको यो सरकार संसद्को पूरा कार्यकाल चल्नुपर्ने आवाज पनि उठेको छ । प्रधानमन्त्री देउवा भने पार्टी र गठबन्धनका नेताहरुको छुट्टाछुट्टै दबाबमा परेका छन् ।
उता, २ पटक संसद भंग गरेर चुनावमा जाने तयारी गरेर धक्का खाएका ओली भने चुनावको मिति तोकिए खुसी नहुने कुरै छैन । उनी यथाशिघ्र चुनावमा जान चाहान्छन् । एमालेको माग यथाशिघ्र चुनावमा हुनुपर्नेमा रहेको छ ।
ओलीको चाहानाजस्तै अब ५ दलीय गठबन्धनको आयु पनि छोटिदै गएको कुरा आँकलन गरे गलत हुने छैन ।

