नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहेको छ
१४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी देउवालाई सिंहले दोस्रो चरणमा सहयोग गरेबापतको पुरस्कार स्वरूप देउवाले उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी गरेका हुन्।
यसअघि नै उपप्रधानमन्त्री भएका सिंहलाई गृह मन्त्रालयको जिम्मेवारी दिएर बालकृष्ण खाँडलाई रक्षामन्त्री बनाउने तयारी देउवाले गरेका हुन्। पार्टीको महाहमन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले राजीनामा दिँदा रक्षा मन्त्रालय खाली छ।
त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा उद्योग मन्त्री बनेका गजेन्द्र हमालले लगत्तै राजीनामा दिएपछि उक्त मन्त्रालय पनि खाली छ। उक्त मन्त्रालयमा माओवादी र एकीकृत समाजवादीले समेत दाबी गरेका छन्।
तर देउवा उद्योग मन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका सांसदलाई दिने तयारीमा रहेको बालुवाटार स्रोतको दाबी छ। त्यस्तै देउवा आफ्नो सचिवालयलाई पनि पूर्णता दिने गरी गृहकार्य अघि बढाएका छन्।
प्रकाशशरण महतलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने लगभग निश्चित भएको छ। त्यस्तै प्रेस विज्ञका रुपमा गेजा शर्मा वाग्लेलाई ल्याएर गोविन्द परियारलाई संयोजक बनाउने तयारी देउवाले गरेका छन्।

