नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना वैशाखमै स्थानीय तहको निर्वाचन गराउने भए पनि गठबन्धन दलहरुका कारण समस्या रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “निर्वाचन आयोगले वैशाखमा निर्वाचन गर्नुपर्छ भनिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा निर्वाचन गर्न नचाहेको भन्ने मलाई लाग्दैन । समयमै गरौं भन्ने उहाँको चाहना छ । तर यो कांग्रेसको मात्र सरकार होइन । ५ दलीय संयुक्त सरकार हो । प्रधानमन्त्रीसँग सबैलाई समेटेर जानुपर्ने बाध्यता छ । तर वैशाखमा गर्ने कि सार्ने विषयमा गठबन्धनको निष्कर्ष आएको छैन ।”
कांग्रेस नेता लेखकले संविधानको भावना हेर्दा स्थानीय तहको निर्वाचन वैशाखमा गर्नु उचित हुने औंल्याए । उनले भने, “संविधानको व्याख्या आँखा नदेख्नेहरुले हात्ती छामेको कथाजस्तो भयो । चार जनाले फरकफरक ढंगले अर्थ्याएका छन् ।
अहिले दलहरुले पनि संविधानको एउटा धारा समातेर अर्थ लगाउँदै छन् । कोही नेता धारा २२५ मात्रै समातिरहनुभएको छ । धारा २१५ र २१६ तिर हेर्न चाहेका छैनन् । आआफूले गरेको व्याख्याले पुग्दैन । त्यसको आधिकारिक व्याख्या त सर्वोच्च अदालतले गर्ने हो ।”
संविधान र कानुन नबाझिएको पनि उनले दाबी गरे । नेता लेखकले थपे, “स्थानीय तह निर्वाचन ऐन, २०७३ अरु कसैले बनाइदिएको होइन । हामी सबैले मिलेर बनाएका हौं ।
किन बनायौं त संविधानसँग बाझिने ऐन रु ५ वर्षसम्म किन चुप लाग्यौ र अहिले चुनावको मुखमा विवाद गरिरहेका छौं रु मैले बुझेको नै अन्तिम सत्य हो त म भन्दिनँ । तर कानुनको अपव्याख्या गर्ने छुट कसैलाई छैन ।”
यस्तै, अन्तर्वार्ताको विषयले पार्टीभित्र अहिले तरंग पैदा भएको छ । लेखकले बोलेको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले समेत चासो लिएको स्रोतले जनाएको छ।
लेखकले “प्रधानमन्त्रीको चाहना वैशाखमै चुनाव हो, तर गठबन्धनका नेताहरू त्यो चाहँदैनन्” भनेर बोलेका थिए । लेखकको उक्त अभिव्यक्ति आएपछि सभापति देउवाले पार्टीका आफूनिकट नेताहरुसँगको छलफलमा समेत यो विषयमा चर्चा गरेको बुझिएको छ ।
उनले नेता कृष्णप्रसाद सिटौलासँग पनि लेखकले किन यसरी बोले ? भन्ने विषयमा छलफल गरेको स्रोतले जनाएको छ ।
पछिल्लो समय पाँच दलीय गठबन्धनमा निर्वाचनलाई लिएर छलफल चलिरहेको र साझा धारणा बनिनसकेको अवस्थामा कांग्रेसकै नेता लेखकले निर्वाचनको पक्षमा पार्टी सभापति देउवा रहेको भएपनि गठबन्धनका नेताहरुले चुनाव नचाहेको भनेर बोलेपछि गठबन्धनमा समेत तरंग पैदा भएको छ ।

