नेकपा माओवादी केन्द्रले २७ माघमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । ११ पुसदेखि १८ पुससम्म काठमाडौंमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य त चुनिएका छन् तर यो पार्टीमा पदाधिकारीको टुंगो कहिले लाग्ला भन्ने अहिलेसम्म अन्योल नै कायम छ ।
त्यसो त, महाधिवेशनमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्र हलमा केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । अनि त्यसपछि केन्द्रीय समिति बैठक बस्ने र त्यो बैठकले अध्यक्ष तथा पदाधिकारी छान्ने निर्णय गरिएको थियो ।
त्यसको भोलिपल्ट केन्द्रीय समिति बैठक पनि बस्यो । यही बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत निर्वाचित गर्यो । तर, पदाधिकारीबारे निर्णय गर्न बोलाइएको केन्द्रीय कमिटी बैठक नै बसेन ।
२५ पुस र ८ माघमा दुई पटक केन्द्रीय समिति बैठक बस्ने तय पनि गरिएको थियो । तर, कोरोनाभाइरसको तेस्रो लहरमा अधिकांश माओवादी केन्द्रका नेताहरु पनि संक्रमित भए पछि यी दुवै बैठक स्थगित गरिए ।
अब माओवादी केन्द्रले २७ माघमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । यो बैठकले पदाधिकारीको चयन, केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो तथा स्थायी समितिको गठन लगायतका विषयमा ठोस निष्कर्ष निकाल्ने गरि माओवादी केन्द्रले आन्तरिक तयारी सुरु गरेको छ ।
२७ माघमा बस्ने यो बैठकले अन्य पदमा कसलाई छान्ला एउटा चर्चाको विषय छ, तर अहिले माओवादी केन्द्रमा सबैभन्दा बढी हटकेक भएको छ, महासचिव । यसपटक माओवादी केन्द्रमा कसले महासचिवको बाजी मार्ला भन्ने चर्चा अहिले थप उत्कर्षमा पुगेको छ ।
माओवादी केन्द्रको महासचिवमा दाबी गरिरहेका नेताहरुमध्ये वर्षमान पुन र जनार्दन शर्माको रस्साकस्सी अझ बढी भएको पार्टीभित्रै चर्चा चल्न थालेको छ । यसअघि काठमाडौंमा भएको महाधिवेशनमा पुन सहभागी हुन पाएनन्, उनी उपचारका लागि चीनमा थिए ।
तर, अब उनी स्वास्थ्यलाभ गरेर फर्किएपछि महासचिवमा उनको दाबीलाई लिएर चर्चा चल्न थालेको छ । हुन पनि उनले फर्किने क्रममा विमानस्थलमा नै पत्रकारहरुसँगको भेटमा आफू स्वभाविक रुपमा महासचिवको दाबेदार भएको बताएका थिए ।
चीनबाट फर्किएको भोलिपल्ट विहान नै उनी प्रचण्डनिवास खुमलटार पुगे । त्यहाँ पनि उनले आफ्नो महासचिवको दाबीबारे प्रचण्डसँग छलफल गरेको उनीनिकट नेताहरुले बताउन थालेका छन् ।
एकातिर प्रचण्डसँग निकट मानिएका पुन यसको दाबीमा छन् भने अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा प्रभाकर पनि आफू महासचिवको बलियो दाबेदार भएको बताइरहेका छन् । सहमतिमा नै महासचिव छान्ने प्रयासमा रहेका प्रचण्डलाई चाहिँ आफू पनि दाबेदार भएको यी दुई नेताबाहेक कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल र शक्ति बस्नेतले पनि सन्देश दिइसकेका छन् ।
स्वास्थ्यलाभ गरेर काठमाडौं फर्कर्नेबित्तिकै वर्षमान अध्यक्ष प्रचण्डलाई भेट्न भोलिपल्ट बिहानै खुमलटार पुगे । पदाधिकारी चयनको विषय बाँकी हुँदा प्रचण्डसँग उनको यो भेटलाई धेरै नेता कार्यकर्ताले अर्थपूर्ण रुपमा लिनु स्वभाविक हो ।
अघिल्लै दिन विमानस्थलमा संचारकर्मीसँग महासचिवमा आफ्नो दाबी कायम रहेको उनले बताएका थिए । सकेसम्म सहमतिमै पदाधिकारी चयनको विषय टुंगिने विश्वास पनि पुनले लिएका थिए ।
त्यतिमात्र होइन, अध्यक्ष प्रचण्डले नै महाधिवेशन समापन गरेर निस्कँदै गर्दा पदाधिकारीको विषयमा चीनमा उपचार गराइरहेका वर्षमान पुन आएपछि मात्र निर्णय लिने बताएका थिए ।
‘हाम्रो कमरेड वर्षमान पुन र ओनसरी घर्ती दुवै जना हाम्रो पार्टीको सिनियर लिडर हुनुहुन्छ । उहाँहरु डिस्चार्ज भएर आउँदै हुनुहुन्छ,’ उनले केन्द्रीय कमिटीको बैठकपछि संचारकर्मीसँग भनेका थिए, ‘उहाँहरुसमेत सामेल भएर एकैपटक पदाधिकारी चयन हुनु उचित हुन्छ भन्ने कारणले नै हामीले २५ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएका हौँ ।’
२५ गते चाहिँ कोरोनाभाइरसको लहरका कारण सारिएको बैठक ८ माघका लागि बोलाइएको थियो । तर, ८ माघमा पनि यो बैठक बसेन । माओवादी केन्द्रमा प्रचण्डनिकटहरुले चाहिँ यो बैठक नबस्नुको कारण पुन नेपाल नआइपुग्नु पनि कारक रहेको बताउन थालेका छन् ।
यसलाई केले पनि पुष्टि गरेको छ भने पुन नेपाल आएसँगै प्रचण्डले पार्टीका आन्तरिक कामहरुमा पनि सक्रियता बढाउन थालेका छन् । यसले गर्दा महासचिवमा वर्षमान पुनको पल्ला भारी भएको हुनसक्ने अनुमान नेकपा माओवादी केन्द्रमा नै गर्न थालिएको छ ।
पुन चीनमै हुँदा पदाधिकारीको विषय टुंग्याएर महासचिवमा आफ्नो नाम दर्ज गराउने प्रयासमा थिए, जनार्दन शर्मा । महाधिवेशन चलिरहँदा आफ्नो पक्षमा लबिङ गर्नका लागि धेरै नेता कार्यकर्ताहरुलाई उनले प्रयोग पनि गरे ।
अर्थमन्त्रीको जिम्मेवारी सम्हालिरहेका शर्माले बरु मन्त्री छोड्नसमेत आफू तयार रहेको संकेत समेत गरेका थिए । तर, उनी यसमा सफल भएनन् । पुन चीनबाट फर्किएपछि चाहिँ उनी झस्किन थालेका छन् । यसको कारण हो, प्रचण्ड पुनसँग बढी लचक देखिनु ।
माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचीमा जनार्दनको परिवारनिकट धेरै सदस्य समेटिएका छन् । सरकारमा रहेको र केन्द्रीय सदस्यको सूचीमा उनलाई विशेष प्राथमिकता दिएको दुई तर्कलाई अगाडि बढाएर प्रचण्डले महासचिवको रेसबाट जनार्दनलाई पछाडि लैजान खोजेको हुनसक्ने पनि अनुमान गरिएको छ । यही कारण जनार्दन शर्मा झस्किएका हुन् ।

