पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री गगन थापा सत्तारुढ गठबन्धनको एक निर्णयको विपक्षमा उभिएका छन् । उनले स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्ने बताएका हुन् ।
शुक्रवार नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत नभएको बताएका हुन् ।
कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत नहुने भन्दै उनले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताए । पार्टी सभापति शेरबहादुर देउवालाई आफुहरुले सो कुरा राखिसकेको उनले उल्लेख गरे । गठबन्धनले संविधानसँग बाझिने गरी कुनैपनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाली कांग्रेसको सभापतिजीलाई मैले आजको छलफलमा पनि भनिसकेको छु ।
र यो भन्दा अगाडी पनि भनिसकेको छु । र गठबन्धनको नेताहरुसँग मेरो प्रत्यक्ष रुपमा भेटघाट नभएको हुनाले गर्दा म यो माध्यमबाट पनि उहाँहरुलाई के भन्न चाहान्छु भने स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरु गठबन्धन भित्र प्रवेश भएको छ,
र जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् ।
ति कुनैपनि विषयहरु संविधानसम्मत छैन । हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौ र त्यसको आधारमा स्थानीय निर्वाचनका बारेमा हामी अहिले कानून संशोधन गरेर निर्णय गर्छौ भनेर जुन कुरा आइरहेको छ, ग¥यौँ भने यो संविधानसम्म्त हुँदैन ।
यो संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनैपनि कारण छैन । बोक्नु हुँदैन भन्नेकुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौँ ।
र गठबन्धनका नेताहरुले पनि यो कुरा बुझ्नु हुन्छ र संविधानसँग बाझीने गरीकन कुनैपनि काम गठबन्धनले गर्दैन भन्नेकुराको मलाई विश्वास छ ।’
सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए ।
शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफुले अपेक्षा गरेको उहनको भनाइ छ ।
गठबन्धनका नेताहरु माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा धकेल्न प्रस्ताव राखेको कुरा चर्चामा छ ।

