पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन् ।
अध्यक्ष नेपालले चुनावबाट आफूहरू नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारूढ गठबन्धन कायम रहने दाबीसमेत गरे ।
‘चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं ।
असारमा गर्ने हो भने सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं,’ उनले भने, ‘केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ । चुनावबाट हामी आत्तिएका छैनौं ।’
यस्तै, उनले ओलीको त्यो प्रयास सफल हुन नदिने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता सत्तारूढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए ।
‘जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं । यस अर्थमा चुनावको कुराबाट बरु अरू आत्तिएका होलान् । गठबन्धनको एकता तोड्न खोजिरहेका होलान् । भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान् ।
अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन । नमिलेपछि गठबन्धन टुट्छ । टुटिसकेपछि त्यसको फाइदा उठाउँला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान् ।
तर आज बिहान भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ,’ उनले भने ।
अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा पनि राखे ।
उनले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०७९ साल असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावीसमेत गरे ।
अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे । उनले कांग्रेस नेताहरू गठबन्धनमा आवद्ध दलको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको बताए ।

