सत्तारुढ दलहरुबीच निर्वाचनका बिषयमा सहमति जुटेको छ । जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सत्तारुढ दल तयार भएका हुन् ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्तारुढ दलको बैठकमा जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको छ । बैठकले सोही छलफलको आधारमा सरकारलाई सुझाव दिने निर्णण गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका नेपाली कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय भएको बताए ।
यस्तै बैठकले संविधानसँग बाझिएका स्थानीय तह निर्वाचन ऐनमा आवश्यक संशोधन गर्नका लागि समेत सरकारलाई सुझाव दिएको छ ।
बैठकमा सहभागि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मुल्य अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिवद्ध रहेको बताए ।
सत्तारुढ पाँच दलीय गठबन्धनको सहमतिअनुसार सरकारले निर्वाचन आयोगसँग छलफल गरेर २०७९ सालको जेठ महिना भित्रमा स्थानीय तहको निर्वाचन गर्ने छ । आयोगसँग छलफल गरेर सरकारले छिटै निर्वाचनको मिति घोषणा गर्नेछ ।
आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ महिनाभित्रैमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।
त्यसपछि सत्तारुढ दलले आ–आफ्नो दलमा छलफल गरेर पुनः साझ गठबन्धनको बैठक बसेर जेठ महिनाभित्रैमा निर्वाचन गर्ने सहमति जुटेको हो ।

