सत्तारुढ गठबन्धनमा सहमतिका लागि अर्को बिषय चुनौती बनेको छ। जेठभित्रै स्थानीय तहको चुनाव गर्न सहमत भएर बालुवाटार बैठकबाट उठेका सत्ता गठबन्धनका शीर्ष नेताहरु फेरि अर्को छलफलमा जुटेका छन् ।
गठवन्धनमा आवध्द चार पार्टीका प्रमुख नेता उच्चस्तरीय समन्वय समितिका सदस्यहरुलाई राखेर एमसीसीबारे छलफल गर्न बसेका हुन् । स्थानीय तहको चुनावसम्मै पाँचदलीय गठबन्धनलाई कायमै राखेर जान सहमत भएका नेताहरु एमसीसी सम्झौतामा भने एकमत छैनन् ।
“बालुवाटारमै जारी छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित समन्वय समितिका तीन जना नेता सहभागी छन् ।”
बताइएअनुसार एमसीसीमा समान धारण बनाएर चुनावसम्म गठबन्धन कायम राख्नुपर्ने मत आजको बैठकमा पनि उठेको थियो । त्यसैबारे छलफल गर्न अहिले शीर्ष नेताहरु छलफलमा जुटेको गठबन्धनका एक नेताले जानकारी दिए ।
एमसिसी विवाद यथावत राखेर चुनावमा तालमेल हुने सम्भावना कम छ । खासगरी सरकारको नेतृत्व गरेको कांग्रेसले एमसिसी अनुमोदन गराउने र तीनै तहका चुनाव मिलेर लड्ने प्रस्ताव गरेको बताइन्छ ।
यता,एमसिसी अनुमोदन गर्न सरकार र राजनीतिक दलहरुमाथि कूटनीतिक दबाब बढाइरहेको अमेरिकाले तालिममा छनौट भएर भीसा लिइसकेका नेपाली सरकारी कर्मचारी र सुरक्षाकर्मीको उडान कोरोनाको कारणसमेत नभनिकन रोकेपछि सरकार थप दबाबमा परेको छ ।
बालुवाटारमै जारी छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित समन्वय समितिका तीन जना नेता सहभागी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न दबाब बढेको छ । उनले सत्ता गठबन्धनका नेताहरुसँग एमसीसी पारित गर्ने विषय फेरि उठाएको बुझिएको छ ।
एमसीसी पारित गर्न अमेरिकाले समयसीमा समेत तोकेर देउवालाई सन्देश पठाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार अबको एक महिनाभित्र एमसीसी पारित नगरे अर्को कुनै देशमा सहयोग रकम लाने अमेरिकाले सन्देश दिइसकेको छ । यसले देउवा दबाबमा परेका छन् ।
गठबन्धनका नेताहरु प्रचण्ड र माधवकुमार नेपालले वैशाखमा स्थानीय चुनावका लागि सहमति जनाएर एमसीसीलाई पछि धकेल्ने रणनीति बनाएपनि देउवाले भने चाँडै एमसीसीबारे टुंगोमा पुग्नुपर्ने प्रस्ताव राखेको बुझिएको छ ।
एमसीसी पारित गर्न प्रचण्ड र माधव नेपाललाई तयार बनाउन देउवाले प्रयास गरिरहेका छन् । यसका लागि अध्ययन कमिटी समेत बनाइएको छ । कमिटीको सुझाव चाँडै लिएर देउवा अगाडि बढ्न खोजेका छन् ।
एमसीसी पारित गर्न गठबन्धनका नेताहरु प्रचण्ड र माधवकुमार नेपाल तयार नभए नयाँ घटनाक्रम विकास हुनसक्ने सम्भावना छ । एमसीसी पारितका लागि देउवाले विकल्पमा केपी शर्मा ओलीसँग सहमति निर्माण गर्ने सम्भावना पनि छ ।
ओलीले पनि देउवालाई गठबन्धन भत्काएमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरिसकेको बुझिएको छ । यसकारण पनि गठबन्धन फेरि धरापमा पर्ने देखिएको छ

