सभामुख अग्नि सापकोटा एमसीसी पास गर्न एमाले र कांग्रेसको खेल बनेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासामू सभामुख अग्नि सापकोटालाई हटाए सहयोग गर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले हालै मात्र गठबन्धनका केही शीर्ष नेताहरु र पार्टीका आफू निकट नेताहरुलाई बताएअनुसार ओलीले सभामुख हटाए संसद अवरोध खोल्ने र एमसीसी पास गर्न पनि सघाउने जवाफ दिएका छन् ।
प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् । तर सत्ता गठबन्धनमा सहमति जुटाउन सकेका छैनन् । खासगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न तयार देखिएका छैनन् ।
तर ओलीले सभामुख हटाए वा सत्ता गठबन्धन टुटाए सघाउन वचन दिएका कारण उनले फेरि एमसीसी अनुमोदन गर्ने प्रयत्न थालेका छन् ।
शनिबार स्थानीय तह निर्वाचनबारे छलफल गर्न बोलाएको गठबन्धनको बैठकलगत्तै उनले एमसीसीबारे सरकारमा भएका चार दलका शीर्ष नेताहरु र एमसीसी अध्ययनका लागि बनेको कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए ।
पछिल्लो पटक एमाले विभाजनका लागि भूमिका खेलेको आरोप लगाउँदै ओली सभामुख सापकोटासँग रुष्ट छन् । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले गरेको पत्रचारलाई रोकेर सभामुखले दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।
उसले १४ जनालाई पदमुक्त गर्नुपर्ने, नभए सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ ।
तर सभामुख हटाउन सजिलो छैन । सभामुख हटाउन आवश्यक पर्ने दुई तिहाई कांग्रेस र एमालेसँग छैन ।
संंविधानको धारा ९१ मा सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ । धारा ९१ ९(६) सभामुख र उपसभामुख अनुसार प्रतिनिधि सभाको सदस्य नरहेमा, सभामुखले लिखित राजीनामा दिएमा र सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा मात्र सभामुख पद रिक्त रहन्छ ।
सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्तावअगाडि बढाउने प्रक्रियासम्बन्धी ब्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ को नियम २०७ मा छ ।
‘२०७ बमोजिमको प्रस्ताव सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित सभामुख वा उपसभामुख पदमुक्त हुनेछ,’ नियम २०९ मा उल्लेख छ ।
देउवा ओलीलाई भेट्न २४ पुसमा निवास बालकोट पुगेका थिए ।

