प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। मंगलबार आयोगका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री देउवाले आयोगलाई यस्तो आग्रह गरेका हुन्।
‘हामीले जेठ ४ गते नै निर्वाचन गर्नुपर्ने भनेर प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका थियौं। उहाँले त्यही मिति उपयुक्त छ भन्नुभयो,’ प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘उहाँले एकै चरणमा निर्वाचनको आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ।’
प्रधानमन्त्रीले छलफलका क्रममा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको सबै तयारी गृह मन्त्रालयले गर्ने भन्दै आयोगका तर्फबाट तयारी गर्न निर्देशन दिएका हुन्।
आयोगका अर्का एक पदाधिकारीले भने प्रधानमन्त्रीले अबको मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने बताएको जानकारी दिए। उनका अनुसार आउँदो बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट सरकारले निर्वाचनको मिति घोषणा गर्ने देखिएको छ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले निर्णय गरेकै दिनदेखि आयोगले पनि निर्वाचनको आवश्यक तयारी अघि बढाउने बताए। ‘सरकारले निर्णय गरेको दिनदेखि नै हामीले पनि तीव्र रुपमा तयारी अघि बढाउँछौं,’ उनले भने।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो जेठ ४ स्थानीय तह निर्वाचन तयारीका लागि पर्याप्त समय रहेको बताएका छन्।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि प्रतिक्रिया दिँदै उनले आयोगले यसअघि जेठ ४ मा निर्वाचन गर्न आयोगलाई समस्या नरहेको बताए।
आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ मा स्थानीय निर्वाचन गर्न सहमति जनाएका छन्। बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिका विषयमा निर्णय गर्ने प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरूलाई बताएका थिए।
निर्वाचनका लागि समय पुग्छ तरु भन्ने प्रश्नमा उनले भने, ‘अब एक सय दिनभन्दा बढी समय छ। हामी सक्छौं। जेठ ५ गते भन्दा उता जान मिल्दैन। मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि हामी तयारी अघि बढाउँछौं।’

