एमाले परित्याग गरेर बसेका नेता वामदेव गौतम माघभित्रै नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । उनको पार्टीमा मालेकालदेखि साथ दिएका नेताहरू भने देखिने छैनन् ।
गौतमले आफ्नो पार्टी मार्क्सवादी, लेनिनवादी वैचारिक धार हुने भए पनि नाम भने प्रजातान्त्रिक खालको हुने निकटस्थसँग बताएका छन् । सोही अनुरुप विधानसमेत आफैँले लेखिसकेका छन् । ‘विधान आफैँ लेखेर टुंग्याइसक्नुभएको छ ।
अब नेतृत्वबारे परामर्शमा हुनुहुन्छ,’ उनको सचिवालय स्रोतले भन्यो ।
एमालेका पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य गौतमलाई अहिले बलियो साथ उनकी पत्नी सांसद तुलसा थापा र छोरा हरिशको मात्र छ । तीनै जना एमाले छाडेर निस्क्रिय बसेका छन् । राष्ट्रिय एकता अभियानलाई सक्रिय पार्ने र कार्यकर्ता जुटाएर पार्टी घोषणा गर्ने तयारीमा उनी छन् ।
‘अभियानमा देशभरका झण्डै एघार सय नेता(कार्यकर्ता आबद्ध थिए । कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँ ल्याउने अभियानले पार्टीकै रूप ग्रहण गर्दा देशव्यापी लहर आउने विश्वास छ,’ अभियानका सदस्य कमल बस्नेतले भने ।
गत साता गौतमपत्नी सांसद तुलसा थापालाई कोभिड संक्रमण भयो । आइतबार परीक्षण गर्दा थापा नेगेटिभ भइन् भने गौतम पोजेटिभ देखिए । ‘कोभिड संक्रमण भएपछि उहाँले आराम गरिरहनुभएको छ । पार्टी गठनको तयारी त लामो समयदेखि भइरहेकै हो । छिट्टै निष्कर्षमा पुग्ला,’ उनको सचिवालयका सदस्य दीपक टमटाले भने ।
कुनै बेला एमाले र तत्कालीन नेकपाभित्र किङ मेकर नेता रहेका गौतमको सामर्थ्य भने खुम्चिएको छ । नेकपाभित्रको विवादमा उनको त्यही भूमिकाले गर्दा नेताहरूबीच विवाद बढाउन मद्दत पुगेको थियो ।
नेकपाको नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक थिए । उनकै निवास भैँसेपाटीमा अध्यक्ष केपी ओलीविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले मोर्चा बनाएका थिए । तर, निर्णायक बेला भने गौतम अध्यक्ष ओलीतर्फ ढल्किएका थिए ।
पार्टी विवादका एउटा कारण बनेका गौतम नेकपा विवाद र विभाजन उत्कर्षमा पुग्दा भने कतै पनि नखुलेर राष्ट्रिय एकता अभियान सञ्चालन गरेका थिए । त्यतिन्जेलसम्म उनको पक्षमा रहेका धेरै नेताहरू ओली र प्रचण्ड(नेपाल समूहमा लागिसकेका थिए ।
गौतमनिकट केशवलाल श्रेष्ठ एकीकृत समाजवादीमा उपाध्यक्ष छन् भने बलराम बाँस्कोटा, हरि पराजुली स्थायी कमिटी सदस्य छन् । पराजुलीलाई उनी आफैँले अन्तिम समयमा समाजवादीमा सनाखत गर्न निर्वाचन आयोग पठाएका थिए ।
पत्नी तुलसा थापा र नेतृ माया न्यौपानेलाई पनि समाजवादीमै सनाखत गराउन निवेदन दिएका थिए । तर, समय सकिएकाले आयोगले अस्वीकार गर्यो । आफूले नयाँ पार्टी गठन गर्दा आफ्ना पूर्वसहयोगी नेताहरूले साथ दिने झिनो आशा गौतमलाई छ ।
तर, श्रेष्ठ, बाँस्कोटा र पराजुलीलगायतका नेताहरू गौतमलाई एकीकृत समाजवादीमै स्वागत गर्न इच्छुक छन् ।
एमाले विभाजन भई एकीकृत समाजवादी गठन हुँदासम्म गौतमले माधव नेपालको पार्टीमा जाने तयारीमै थिए । तर, नेता नेपाल मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन सिद्धान्त मान्न तयार भएनन् ।
पार्टीको दस्तावेज लेखनको नेतृत्व गरेका नेता झलनाथ खनालले जबजको ‘च्याप्टर क्लोज’ भएको घोषणा गरेपछि गौतम समाजवादीमा जान रोकिएका थिए ।

