१२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको कुरा उठेको छ ।
प्रतिनिधिसभाका सांसदहरूले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहेअनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्नसमेत माग गरे ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्यांक विभागसँग माग गरे ।
उनले काठमाडौंमा सधैं बसाइँसराइँ बढिरहने तर त्यस अनुपातमा जनसंख्या घटने काम हुनै नसक्ने हँुदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नजितामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए ।
सांसद पाण्डेले भने, ‘काठमाडौंमा जहिले पनि माईग्रेसन बढि हुन्छ । यो राजधानी हो । यो अस्थायी माइग्रेसन संघीयताले पनि रोकेको छैन । उता अरु जिल्ला बढने र काठमाडौं नबढने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्रो भएन कि ।
या अस्थायी रुपले माईग्रेट भएर पेसा, व्यवसायमा आएका मान्छेहरू कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौंमा नभटेर हो कि ? केही त जष्टिफिकेशन हुनु पर्यो नि । कोभिडका कारण विद्यार्थीहरू बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किए कि । नत्र भने यो तथ्य मिलेन । विगतमा त्यो बढेर आउँथ्यो ।’
काग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन् । उनले विदेशमा गएका नेपालीहरूको जनगणना गर्ने कार्य योजना के छ रु भन्दै केन्द्रीय तथ्यांक विभागलाई प्रश्न गरिन् ।
सांसद राईले गणकहरूलाई घरघरमा पुर्याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन् । उनले भनिन्, ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन ।’
यता, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए ।

