सरकारले आज देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’बापत प्राप्त हुने १ सय ५० बिलियन अमेरिकी डलर ९करिब १८ अर्ब रुपैयाँ
सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि जानकारी दिएका छन् ।
प्रवक्ता कार्कीले नेपाल टेलिभिजनको अध्यक्षमा ४ वर्षका लागि समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिएका छन् ।
सरकारले नेपाल खुला विश्वविद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको ४ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।
शिक्षक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रियाअघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने भएको छ भने सफा
हिमाल अभियान २०२० मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्भेज धरौटी बापतको रकम छुट दिने निर्णय पनि गरेको छ ।
सरकारले तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइनका लागि जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, मालपोत कार्यालय र नापी कार्यालय सिमरा बाराको कार्यक्षेत्रमा पर्ने साविक गाविस बुनियाद,
रामपुर कोटनी तथा लिपनीमालको कार्यक्षेत्र भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय कलैयाको कार्यक्षेत्रमा समावेश गर्ने र मालपोत कार्यालय र
नापी कार्यालय चितवनको कार्यक्षेत्रभित्र पर्ने साविक हाजिपुर गाविसलाई मालपोत कार्यालय र नापी कार्यालय खैरहनीको कार्यक्षेत्रमा समावेश गर्ने निर्णय पनि गरेको छ ।

