मेरो नाम टिका बहादुर तामाङ हो। मेरो घर धादिङ हो। म ३० बर्षको भएँ। साउदी अरबमा काम गर्न आएको मात्रै चार महिना भएको छ। स्वदेशमा बसेर परिवार पाल्न गाह्रो भएपछि विदेशिएको हुँ।
म म्यानपावर मार्फत् साउदी अरब आएको हुँ। उसले १४ सय रियालमा काम गर्न मलाई सम्झौता गरायो। तर यहाँ १२ सय मात्रै दियो। सम्झौता अनुसार मलाई होटलमा वेटरको काम गर्ने भनेपनि यहाँ आएपछि मलाई ९० किलोका बोरा गाडीमा लोड गर्ने काममा लगाइयो।
लेवरको काम गर्दा मेरो शरीर छियाँ छिया भयो। मुटु दुख्यो। म गम्भीर खालको विरामी भएँ। त्यही गह्रौँ सामान उचालेर मेरो स्वास्थ्य विग्रियो भन्ने मलाई लागेको छ। यस अगाडि पनि म तीन बर्ष साउदी बसेको थिए। यस्तो कठिन काम गरेको थिएन।
म चार वटा हस्पिटल पुगेँ स्वास्थ्य परीक्षणका लागि, तर कम्पनीले उपचार खर्च दिएन। कमाएको १२ सय रियाल पनि सबै उपचार खर्चमा सकियो। हस्पिटलमा एक्सरे गराएँ। औषधी दियो तर औषधीले केही छोएन। मेरो शरीर भतभती पोलिरहेको छ।
दिनमा चार पाँच पटकसम्म वाथरुम गएर शरीरमा पानी ख्याउँदै बसिरहेको छु। यहाँको हस्पिटलले राम्रोसँग उपचार पनि गर्दो रहेनछ।मैले मेडिकल रिपोर्ट नेपाल डाक्टरकहाँ पठाएँ, तर उनीहरुले मृगौला खराबी भएको भनिरहेका छन्। मसँग उपचार गर्न एक पैसा छैन।
यहाँ यस्तो विरामी अवस्थामा मलाई दिनमा एक वटा रोटी र एउटा चिसो मात्रै काम गर्ने कम्पनीको तर्फबाट खान दिइएको छ। यति खानेकुराले मेरो भोक मेटिन्न।
भोकै भएका कारण एक महिना यता रातमा राम्रोसँग सुत्न सकिरहेको छैन। यता शरीरको दुखाइले मरणासन्न बनाउँछ। भोक लाग्यो भने काम गर् भन्दछन्। म काम गर्न सकिन्न। म मर्ने स्थितिमा पुगिसकेँ जस्तो छु।
मेरा दुई दिदी, एक श्रीमती र सात बर्षको छोरा छन्। म यस्तो अवस्थामा यहाँ बस्नु भन्दा बरु नेपाल नै गएर मरुलाँ भनेर मेरा आफन्तलाई पीडा पोखेँ। मेरो दिदीभिनाजु साउदीको दूतावास र मलाई यहाँ काम गर्न पठाउने म्यानपावर कम्पनी ९कान्तिपुर म्यानपावर कम्पनी० मा ६ पटक सम्म धाए।
मलाई नेपाल छिटो फिर्ता गर्न उनीहरुले साउदीको दूतावास र म्यानपावर कम्पनीसँग अनुनय विनय गरेँ। तर उनीहरुले मेरो दुःख र समस्या बुझेनन्। म्यानपावरबाट तिमीहरु जे गर्न सक्छौ गर भनेर धम्काउनेसम्म काम भयो।
उल्टै पहिले सम्झौता भएको वेटर काम गर्न भनेछन्। काम गर्न पठाएको काम किन नगर्ने भन्दै थर्काएछन्। नेपाल पठाउने हो भने ९ हजार रियाल लाग्छ भनेर अनेक सर्त राख्दै दुःख दिइरहेका छन्।
मेरा आफन्त म यस्तो अवस्थामा बस्दा मर्छ कि भनेर रातदिन चिन्ता र पिर लिई बसिरहनु भएको छ।
म मरे पनि नेपालमै मर्न चाहन्छु। म विदेशमा हरेक पल भगवान्सँग नेपाल फर्कन पाऊँ भनी पुकारा गर्दै बसिरहेको छु। म धादिङ घरमा पुग्न सके अर्को जुनी प्राप्त गरेको महशुस गर्ने थिएँ।
मलाई यहाँबाट उद्धार गरिदिन सबैसँग आग्रह गर्दछु। मेरो पीडा र दुःख बुझेर सहयोग गरिदिनुहोला।
९साउदी अरबमा चार महिना अगाडि काम गर्न गएका टिका बहादुर तामाङ अहिले गम्भीर विरामी छन्। नेपाल फर्कन प्रयास गरेपनि उनी फर्कन पाइरहेका छैनन्। उनीसँग गोविन्द लुइँटेलले गरेको टेलिफोन सम्वादमा आधारित०
सम्पर्क नम्वरस् टिका बहादुर तामाङ ं९६६५६५१२७८२३ साउदी अरब
सुनिता लामा नेपाल ९७४९३४५७९७

