माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा एमालेसँग गठबन्धन गरेर जान चाहेको खुलासा भएको छ ।
वर्तमान सत्तारुढ गठबन्धनमा आन्तरिक खटपट आएको चर्चाका बीच नेकपा एमालेका अध्यक्ष केपी ओलीनिकट एक पोलिटब्युुरो सदस्यले यस्तो खुलासा गरेका हुन् ।
‘स्थानीय तह निर्वाचन संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहस कार्यक्रममा सम्बोधन गर्दै एमालेका युवा नेता महेश बस्नेतले यस्तो दाबी गरेका हुन् ।
माओवादी र एकीकृत समाजवादी पार्टी अहिले सरकारमा भए पनि निर्वाचनमा एमालेसँग गठबन्धन गर्ने विषयमा पनि छलफल चलाइरहेको सूचना आफूले पाएको उनको दाबी छ ।
प्रचण्ड र नेपालप्रति लक्षित गर्दै उनले अवसरवादीहरुलाई बोकेर लोकतन्त्रको रक्षा गर्न नसकिने बताए । नेपाल र दाहाल कांग्रेसका लागि घाँडो साबित भएको उनको भनाइ छ ।
संविधान र लोकतन्त्र बचाउन आवधिक निर्वाचन सही दिशामा लैजानका लागि जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नैपर्ने बस्नेतको भनाइ छ ।
प्रचण्ड र माधवकुमारसँग कुनै पनि सहकार्य असम्भवः प्रदीप ज्ञवाली
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकलाई अस्रितातर्फ धकेल्ने प्रमुख पात्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग अव एमालेको कुनै पनि सहकार्य नहुने बटमलाइन बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने अडान राखेर गठबन्धन टुटने चेतावनी दिएपछि एमालेसँग हामी मिल्न सक्छौं भन्दै प्रचण्ड र माधवले धम्क्याएको सूचाना बाहिर आइरहेको बेला उपमहासचिव ज्ञवालीले यस्तो बटमलाइन बताएका हुन् ।
सम्भावित तीनै तहको निर्वाचनमा हुने गठबन्धनको कुरा गरेपछि ज्ञवालीले अस्थिरताका पात्रहरुसँग एमालेको सहकार्य संभव नहुने जवाफ दिए ।
२०७४ सालको संघ तथा प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य गरेर जितेको माओवादीले पार्टी एकतासमेत तोडेर कांग्रेस नेतृत्वको सरकार बनाएर केही थान मन्त्री हात पारेको छ ।
अहिले प्रधानमन्त्रीले आफ्नो योजनामा सहयोग नगरे गठबन्धन तोडने बताएपछि जवाफमा हामी त कम्युनिष्ट हौं, एमालेसँग मिल्न सक्छौं नि भन्ने कुरा हेक्का राख्नोस भन्दै धम्क्याउने गरेको सूचना बालुवाटारबाटै बाहिरिएको थियो ।
यही प्रसंगलाई संकेत गर्दै एमाले उपमहाचिव ज्ञवालीले अव यो कुरा संभव नहुने बताए । गठबन्धनले झन् अस्थिरता ल्याएको ज्ञवालीको भनाई छ ।
‘फेरि पनि अस्थिरताका पात्रसँग मिलेर जाने पक्षमा एमाले छैन, यो कुरा प्रष्टसँग सवैले बुझ्दा हुन्छ,’ आगामी निर्वाचनबारे राष्ट्रिय युवा संघले आज काठमाडौंमा गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले भने।

