रासनबापतको रकम घुस लिने प्रहरी अधिकृतको पोल ख्ुलेको छ । सशस्त्र प्रहरी बलको २३ नम्बर मनकामना गण भानु तनहुँका एसपी संजय भट्टराईको यस्तो पोल खुलेको हो ।
उनले सिपाहीलाई बिदा छाडेर रासनबापतको रकम घुस लिने गरेको बिषय उजागर भएपछि उनीमाथि छानबिन गर्न गण्डकी प्रदेशका डीआइजी शम्भु सुवेदीलाई छानबिन गर्न मुख्यालयबाट निर्देशन दिइएको छ ।
डिआइजीलाई छानबिन गर्न सशस्त्र मुख्यालयबाट निर्देशन दिएको सूचना प्राप्त गर्नासाथ एसपी भट्टरार्ईले गणबाट बिदामा पठाएका करिब २ सय प्रहरीलाई तत्काल हाजिर हुन फोन गर्दै बोलाएका छन् ।
तत्काल जो जुन अवस्थामा भए पनि तत्कालै हाजिर हुनका लागि उनले फोनबाट निर्देशन दिएका छन् । सशस्त्र प्रहरीलाई बिदामा पठाएर रासनको पैसा मासिक १० लाख भन्दा बढी अनियमितता गर्दै आएका एसपी भट्टराईको कर्तुत खुलेपछि उनले हतार हतार सिपाही हवल्दारलाई फोनमार्फत् बोलाएका हुन् ।
सशस्त्र प्रहरीका हरेक गणमा जस्तै यहाँ पनि ६२५ दरबन्दी भए पनि २३ नम्बर गणमा भने ३ सय ३० जना जति मात्रै छन् । त्यसमध्ये पूर्वी नवलपरासीको चोरमारास्थित बेशमा निरीक्षकसहित १५ जना जाने गर्छन् ।
बाँकी करिव ८० जना जति गणमा राखेर बाँकी २ सय जना सधैं बिदामा छोड्ने गरिएको छ । पुग नपुग गणमा ८० जना भन्दा बढी कहिल्यै नहुने गणकै एक अधिकृतले बताए । उनले भने, यो गण मातहत कुनै बिओपी छैन ।
बेश चोरमारामा एउटा छ । बेशमा १५ जना हुन्छन्, त्यसमध्ये पनि निरीक्षकले १० जना राखेर पाँच जना बिदा छोड्छन र त्यसबापतको रकम पनि गणपति भट्टराईलाई मासिक रूपमा बुझाउनुपर्छ ।
गणभित्रको कुरा गर्ने हो भने दिनमा तीनवटा र रातिमा पाँच वटा पोष्ट छन् । पुरानो राशन बापतको रकमको हिसाब गर्दा पनि दुई सय जना बिदा छोड्दा मासिक १० लाख ८० हजार र अहिलेको थप समेतको हिसाबले मासिक न्यूनतम १४ लाख रूपैयाँसम्म मनकामना गणका गणपतिले सिपाही घर पठाएर खाने गरेको आरोप छ ।
सशस्त्रलाई बिदामा पठाएर मासिक लाखौं रुपैयाँ अनियमितता गर्दैआएका एसपी भट्टराईले खानासमेत अति कमसल खाना खुवाउने गरेको गुनासो कार्यरत तल्लोदर्जाका सिपाही हवल्दारले गर्दैआएका छन् ।
सशस्त्रमा अति कमसल र कुहिएका चामल तल्लो दर्जाका सुरक्षाकर्मीलाई खुवाएपछि २०६५ मा बिद्रोह नै भएको थियो । तनहुँको २३ नम्बर गणमा एसपी भट्टराईले सशस्त्र प्रहरीका जवानलाई अति नै कमसल खाना खुवाउने गरे पनि सिपाही हवल्दार सहन बाध्य छन् ।

