सभामुख अग्निप्रसाद सापकोटासँग केही दलका नेताहरुले भेटघाट गरेका छन् । सभामुखको निवास लैनचौरमा भएको भेटघाटमा लामै कुरा भएको बताइन्छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने वा नगर्ने भन्ने विषय पेचिलो बन्दै गएका बो राजनीतिक तहमा भेटवार्ता बाक्लिन थालेको हो ।
सत्ता गठबन्धनको मुख्य दल नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री जसरी पनि सम्झौता पारित गर्नुपर्ने अडानमा छन् ।
तर गठबन्धनका अन्य दल आवश्यक संशोधन नगरेसम्म संसदबाट पारित गर्न नहुनेमा टसको मस भएका छैनन् । एमाले विपक्षी दलको हैसियतमा पुगेपछि उसले यसबारे केही बताएको छैन ।
अघिल्लो वर्ष सत्तामा छँदा एमाले अध्यक्षले जसरी पनि पारित गराउनुपर्ने बताउँदै संसदमा प्रस्ताव टेबुल गरेका थिए ।
अहिले राजनीतिक दल र तिनका नेताहरुबीच एमसीसी सम्बन्धमा तीव्र ध्रुवीकरण भएको छ । यही सन्दर्भमा अस्ति बेलुकी सभामुख अग्निप्रसाद सापकोटासँग केही दलका नेताहरुले भेटघाट गरेका छन् ।
सभामुखको निवास लैनचौरमा भएको भेटघाटमा लामै कुरा भएको बताइन्छ ।
एमाले स्थायी समिति सदस्य घनश्याम भुसाललगायतका नेताहरु एमसीसीको सरकारी भावी प्रस्तावबारे बुझ्न सभामुख निवास पुगेका हुन् । भुसालसँगै सांसद तथा एमाले नेता डा.दीपकप्रकाश भट्ट समेत रहेको बताइन्छ ।
सो अवसरमा सभामुखले ‘मेरो त के हुन्छ र राजनीतिक पार्टीको कुरा हो” भनेर विषयवस्तुमा छलफल गरेको स्रोतको दाबी छ ।
सभामुख सापकोटाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमसीसी यस्तो भयंकर गम्भीर मुद्दा हो,यसमा राजनीतिक पार्टीहरुले राष्ट्रिय सहमति गरुन् भन्ने मेरो चाहना हो ।
उठेका प्रश्नहरुको बारेमा जनतालाई प्रष्टसँग बताउनु राम्रो हुन्छ । मेरो चाहना यसले नेपाली समाजलाई विभाजित नगरोस् भन्ने नै हो ।’
यता बालकोटतिरको पछिल्लो धारणा बाहिर नआए पनि एमसीसीलाई च्याँखे थाप्ने काममा प्रयोग गर्ने निर्णय भएको बताइन्छ । ‘राजनीतिक कथाले के माग्छ, उनीहरुले त्यही गर्छन्,’ एमालेको पछिल्लो निर्णयबारे आशंका गर्दै स्रोतले उल्लेख गरेको छ ।

