प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसी पास गरीछाड्ने अभियानमा छँदा उनकै पार्टीमा फरक मत देखा परेको छ ।
कांग्रेसभित्र एमसीसीको विषयलाई लिएर दुई धार देखिएको हो । सभापति शेरबहादुर देउवा एमसीसीलाई तत्काल अगाडि बढाई संसदबाट अनुमोदन गराउने पक्षमा देखिएका छन् ।
कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरु एमसीसी निर्वाचनको मुखमा संसदबाट अनुमोदन गराउने अभियानमा लाग्न नहुने पक्षमा उभिएका छन् ।
कांग्रेसको पदाधिकारीहरुबीच भएका छलफलमा उनीहरुले निर्वाचनको मुखमा एमसीसीको विषय उठाउँदा मतमा फरक पर्ने धारणा राखेको कांग्रेस स्रोतको भनाइ छ ।
कांंग्रेस स्रोतका अनुसार, कांग्रेसका नेताहरुले २०७४ सालको स्थानीय निर्वाचनको बेलामा भारतीय नाकाबन्दीलाई औपचारिक रुपमा नभनेर सीमा अवरोधमात्रै भनेको र प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने प्रयासका कारण मतदाता नकारात्मक बनेको उदाहरण दिएर एमसीसीलाई तत्काल अघि बढाउन नहुने दाबी गर्ने गरेका छन् ।
एमसीसीको विपक्षमा तल्लो तहका जनतामा नकारात्मक धारणा छ । एमसीसी बहिस्कार गर्नुपर्ने ठूलो जनमत भएकोले उक्त जनमत स्थानीय निर्वाचनमा असर गर्ने बताइरहेका छन् ।
एमसीसीको पक्षमा अहिले कांग्रेसले अडान राख्यो भने जनमत बिग्रिने र एमालेलाई फाइदा हुन सक्ने भन्दै कांग्रेसका नेताहरु गुरुङ, शर्माहरुको पार्टीभित्र माहोल बनाउन खोजिरहेका छन् ।
त्यसैले महामन्त्री गगन थापा पनि मौन बसेको कांग्रेसका नेताहरुले बताइरहेका छन् । थापानिकट युवा नेताहरुले एमसीसीसम्बन्धी निर्णय आउँदो संसदलाई जिम्मा दिनुपर्ने तर्क गर्न थालेका छन् ।

