गृहमन्त्री बालकृष्ण खाँणले कर्मचारीहरूलाई आ–आफ्नो जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् । ‘सरुवा हुने दिन गनेर बस्ने हाम्रो चलन छ, तपाईँहरूलाई मेरो आग्रह छ, सरुवा हुने दिन गनेर नबस्नुस्, आफ्नो दायित्व पूरा गर्नुस्,’ मन्त्री खाँणले निर्देशन गरेका छन् ।
शनिबार प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकमा मन्त्री खाँणले तोकिएको समयभन्दा बढी समयसम्म पनि जिल्लामा जिम्मेवारी लिएर बस्नुपर्ने अवस्था हुन सक्ने भन्दै सचेत गराएका थिए ।
‘प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको शान्ति सुरक्षाबारे ध्यान दिनुस् । एक वर्ष पुग्न यति दिन बाँकी छ भनेर दिन गन्दै नबस्नुस्,’ मन्त्री खाँणले अघि भनेका थिए, ‘तपाईँको कामको मूल्यांकन गरेर बढी समयसम्म पनि प्रजिअ बनाउने हुनसक्छ ।’
मन्त्री खाँणले जिल्लामा प्रमुख जिल्ला अधिकारी नै सरकारको प्रतिनिधि भएकाले त्यही अनुसार काम गर्न निर्देशन गरेका थिए । उनले भनेका थिए ‘तपाईँहरू सरकारको प्रतिनिधि हो ।
जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी पनि तपाईँहरूको काँधमा छ । सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसालेर भए पनि प्रभावकारी काम गर्नुपर्ने हुन्छ,’ मन्त्री खाँणले भनेका थिए ।
मन्त्री खाँणले आसन्न निर्वाचनमा व्यवस्थापनका लागि समेत आवश्यक तयारी अघि बढाउन निर्देशन गरेका छन् ।

