कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको पत्र एक सञ्चारमाध्मले प्रकाशित गरेको छ ।
देउवा र प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएको खुलेको हो ।
दुबै नेताले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पत्र पठाएको खुलेको छ । एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्ने दुबै नेताले प्रतिवद्धता जनाउँदै चार÷पाँच महिनाको समय मागेका थिए ।
‘हामी प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा एमसीसी सम्झौता संसदबाट पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गर्दछौं,’ दुबै नेताद्वारा हस्ताक्षरित संयुक्त पत्रमा भनिएको छ ।
कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धतासहितको पत्र पठाएको खुलासा गरेका थिए ।
‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेका छौं,’ उनले भनेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धतासहितको पत्र नपठाइएको जीकिर गर्दै आएका थिए ।
एमसीसी बोर्डलाई पत्र लेख्दै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संसदबाट अनुमोदनका लागि मागेका छन् । पत्रमा उनीहरुले एमसीसी बोर्ड उपाध्यक्ष फातिमा जी सुमारसँग नेपालमा छलफल भएको उल्लेख गर्दै एमसीसी संसदबाट अनुमोदन गराउने प्रतिवद्धता जनाएका छन् ।
फातिमा सेप्टेम्बर दोस्रो साता एमसीसी परियोजनाको अवस्थाका बारेमा छलफल गर्न नेपाल आएकी थिइन् । ‘बोर्ड उपाध्यक्ष फातिमा सुमारसँग हामीले विस्तृत रुमपा सम्झौताका बारेमा छलफल गरेका छौं र संसदबाट अनुमोदन गर्ने प्रतिवद्धतासमेत जनाएका छौं,’ देउवा र प्रचण्डले लेखेका छन्, ‘नेपाल सरकार एमसीसी सम्झौताका पक्षमा रहेको र नेपालको आर्थिक विकासमा यसको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको हामी विश्वास दिलाउन चाहन्छौं ।’
संसदबाट एमसीसी अनुमोदनका लागि आवश्यक वातावरण बनाउन चार÷पाँच महिना चाहिने दुई नेताले पत्रमा लेखेका छन् ।
उक्त समयमा उनीहरुले त्यसका लागि ६ वटा काम गर्ने प्रतिवद्धता जनाएका छन् । एमसीसीले पठाएको स्पष्टीकरणका बारेमा गठबन्धनमा आवद्ध दलहरुभित्र व्यापक छलफल गर्ने र यथार्थ बुझाउने प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।
एमसीसीका बारेमा रहेका भ्रम र आशंका हटाउन सरकारले सार्वजनिक बहसका कार्यक्रम गर्ने साथै एमसीसी अनुमोदनका पक्षमा धारणा राख्न सत्ता गठबन्धनमा आवद्ध दलहरुको संयुक्त पत्रकार सम्मेलन गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् ।
‘सरकारी सञ्चारमाध्यममार्फत् एमसीसीका बारेमा वास्तविक सूचनाहरु सम्प्रेषण गर्ने, एमसीए नेपाललाई प्राविधिक र सञ्चारका कामहरु सम्पन्न गर्न प्रोत्साहित गर्ने, जसले गर्दा एमसीसी कार्यान्वयन गर्न सहज होस्,’ पत्रमा भनिएको छ, ‘र एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सभामुखलाई छिटो टेबुल गर्न संयुक्तरुपमा आग्रह गर्ने ।’
प्रधानमन्त्री देउवा र प्रचण्डले दुई देशबीचको लामो मित्रता र सहयोगी सम्बन्धले एमसीसी परियोजना अनुमोदनका लागि थप समय उपलब्ध हुने विश्वास गरेका थिए । ‘एमसीसी संसदबाट अनुमोदन गराउन केही समय आवश्यक हुने हाम्रो आग्रहलाई एमसीसी बोर्डले स्वीकार गर्ने विश्वास लिएका छौं,’ पत्रको अन्तिममा भनिएको छ ।

