नेकपा एमालेका नेता एवं सांसद लालबाबु पण्डितले संसद् खुला रहेको बताएका छन् । उनले एमसीसी अनुमोदनको प्रस्ताव ल्याए संसदभित्र छलफल गर्न तयार रहेको बताए।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “नेकपा एमालेले एमसीसी अनुमोदन गर्ने वा नगर्ने कुनै निर्णय लिएको छैन ।
तर सत्ता गठबन्धनले एमसीसीको प्रस्ताव ल्याए संसद्भित्र छलफल गर्न तयार छौं । एमसीसी संसद्मा ल्याउने वा नल्याउने जिम्मेवारी सरकारको हो । प्रस्ताव आयो भने एमाले वेलबाट आफ्नो धारणा राख्न पछि पर्दैन ।”
तपाईंहरुले भत्ता खाने तर संसद् चल्न नदिने गर्न मिल्छ भन्ने पत्रकार धमलाको प्रश्नमा पण्डितले भने, “संसद् खुला छ । कसले बन्द गरेको छ रु संसद् अवरोध छ भन्नेले आएर हेरे हुन्छ-हामीले कुन माननीयजीलाई बोल्न दिएका छैनौं ?
कुन मन्त्रीलाई रोष्ट्रममा जान दिएका छैनौं रु हामीले कहिले सभामुखको मुख थुन्यौं रु रोस्ट्रममा जाँदैमा संसद् अवरोध हुँदैन । नाराबाजीका बीचमा प्रस्तावहरु पास भएका छन् कि छैन ? हामीले संसद् चलेको दिनबाहेकको भत्ता लिएका छैनौं ।”
५ दलीय गठबन्धन ५ तिर फर्किएकाले संसद् नचलेको आरोप पनि उनले लगाए । एमाले नेता पण्डितले थपे, “म फेरि पनि भन्छु, संसद् अवरोध छैन । सभामुखले बोलाएको दिन संसद् चलेको छ । ५ दलीय गठबन्धन ५ तिर फर्किएका छन् । अनि एमालेलाई दोष दिएका हुन् ।”
सरकारले निर्वाचन घोषणा गरे नेकपा एमाले एक्लै सामना गर्न तयार रहेको पनि पण्डितले दाबी गरे । उनले भने, “हामी जनतालाई भगवान् मान्छौं । उनीहरुलाई नै पुजेर तीनै तहको सरकारमा फर्कन्छौं । तर सत्ताका लागि कसैसँग भीख माग्न जाँदैनौं ।”
समयमै स्थानीय तहको चुनाव घोषणा भएन भने एमाले आन्दोलनमा जान पछि नपर्ने चेतावनी पनि उनले दिए ।

