बालुवाटार वार्ताको सम्भावित नतिजा !
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ ।
भेटवार्तामा तीन नेताबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० र संसद अवरोध खुलाउने बिषयमा शीर्षस्थ नेताहरुबीच छलफल भइरहेको छ ।
निकै समयपछिको तीन शीर्षस्थ नेताहरुबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । विशेषरी एमसीसीको सन्दर्भमा अध्यक्ष ओली प्रधानमन्त्रीमा रहँदा संसद्बाट एमसीसी पारित गर्न लागिपरेका थिए तर, प्रधानमन्त्रीबाट बहिर्गमनपछि उनी यस विषयमा न्युट्रोलमा छन् ।
यस्तै, एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले कारबाही नभएको भन्दै संसद अवरुद्ध गर्दै आएको छ । र, त्रिपक्षीय भेटले यो समस्याको पनि निकास दिने बताइएको छ ।
ओली र प्रचण्ड सात महिनापछि औपचारिक रूपमा एउटै बैठकमा आम्नेसाम्ने भएका छन् । ओली प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डसँग औपचारिक भेटवार्ता गरेका थिएनन् ।
यसबीचमा सम्पन्न भएका एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने माओवादीको महाधिवेशनमा ओली गएका थिएनन् । महाधिवेशनमा दुवै पार्टीले दुवै नेतालाई निम्तो दिएका थिए ।
नेपाली कांग्रेसको मंसिरमा भएको महाधिवेशनमा भने प्रचण्ड र ओली एउटै मञ्चमा उपस्थित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा ओली र प्रचण्ड एकै मञ्चमा उपस्थित भए पनि औपचारिक कुराकानी भएको थिएन ।
प्रचण्डको कारण गत असार २८ गते ओलीले बालुवाटार छोड्नुपरेको थियो । प्रचण्ड र माधव कुमार नेपालका कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको थियो जसको अध्यक्ष ओली र प्रचण्ड रहेका थिए । अदालतले पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो ।
त्यसपछि तत्कालीन एमाले नेता माधव कुमार नेपालले एमालेबाट अलग भई नेकपा ९एकीकृत समाजवादी० पार्टी स्थापना गरेका थिए । ओलीले गरेको संसद् विघटनलाई प्रचण्ड र नेपालले समर्थन नगरेपछि ओली प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेको थियो ।
प्रधानमन्त्रीबाट हटेपछि ओली र प्रचण्डबीच प्रत्यक्ष औपचारिक भेटवार्ता भएको थिएन । आज प्रधानमन्त्री देउवाले समसामयिक विषयमा छलफल बालुवाटार बोलाएपछि ओली र प्रचण्ड आम्नेसाम्ने भएका हुन् ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले बताएका छन् ।
तीन प्रमुख पार्टीका अध्यक्षहरूको बैठक यस्तो दिनमा भइरहेको छ जुन दिन देउवा र प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी नेपालको संसदबाट फागुन १७ गते भित्र अनुमोदन गर्ने प्रतिबद्धता गरेका थिए ।

