नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रवक्ताको जिम्मेवारी पाएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा प्रकाशशरण महतलाई जिम्मेवारी दिएका हुन् ।
१४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदका उम्मेदवार बनेका महत पराजित भएका थिए ।
सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । कांग्रेसमा केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ ।
सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । महत यसअघि कांग्रेस सहमहामन्त्री थिए ।
यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सदनबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता गरेको खुलेपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफ्नो पार्टीका सभापतिलाई जोडेर एमसीसी अनुमोदन गर्न लिखित प्रतिबद्धता नै भएको खुलेपछि यसबारे थप अध्ययन गरेर पार्टीको आगामी २७ माघमा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गर्ने उनले बताए ।
‘पार्टीको बैठकमा छलफल गरेपछि मात्रै यस विषयमा कसरी अघि बढ्ने छ,’ उनले भने । एमसीसी अनुमोदन गराउने लिखित प्रतिबद्धता गरेको भन्नेसम्मको सूचना मात्रै बाहिरिएकाले यसबारे थप अध्ययन गरेर मात्रै थप धारणा दिने उनको भनाइ छ ।

