नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा एकजना शक्तिशाली नेता प्रवेश गर्न लागेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०मा प्रवेश गर्ने तयारीमा हुन् ।
यही माघ २९ गते माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटघाट गरी पार्टीमा कहिले प्रवेश गर्ने भन्ने कार्यक्रम बनाउने शुक्लाले बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीसँग भेट गरेपछि उनी यस्तो निर्णयमा पुगेको बताइएको छ । गत स्थानीय तहको निर्वाचनमा शुक्ला मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट सम्मरीमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
शुक्ला जनमत पार्टीमा पनि प्रवेश गरेका थिए । उनले सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा ३ हजार ६६ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी कांग्रेस विनोद कुमार श्रीवास्तवले २ हजार १९६ मत र स्वतन्त्र उम्मेदवार अशोक कुमार शुक्लले १ हजार ७९७ मत ल्याएका थिए ।
यसअघि कपिलवस्तुकोे कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका थिए । २०७४ सालमा स्वतन्त्रबाट चुनाव जितेका शाह शनिबार काँग्रेस प्रवेश गरेका हुन् ।
निर्वाचित भएको केही महिनापछि नेकपा (एमाले)मा प्रवेश गरेका उनले पछि त्यही उक्त पार्टी परित्याग गरेका थिए ।

