राप्रपा एकता महाधिवेशनबाट नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन आएलगत्तै राप्रपा फुटको दिशामा गएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना माग सुनुवाइमा तत्परता नदेखएकाले नयाँ विकल्पका लागि तयार रहन आग्रह गरेका छन्।
थापाले नयाँ पार्टी खोल्ने तयारीस्वरुप नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आफूनिकट केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई छलफलका लागि बोलाएर यस्तो भनेका हुन्।
गत मंसिरमा भएका एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै पार्टी गतिविधि बहिष्कार गर्दै आएका थापाले अलग्गै राजनीतिक यात्रा थाल्ने संकेत उक्त बैठकबाट गरेका हुन्।
पूर्वअध्यक्ष थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाका अनुसार यो बैठकमा काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारी र सदस्यहरुलाई बोलाइएको थियो।
बर्तौलाका अनुसार मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेपबारे छानबिन गर्न दुई पटक गरिएको ध्यानाकर्षणप्रति अध्यक्ष लिङ्देन गम्भीर नभएकाले अब विकल्प खोज्ने बिन्दुमा पुगेको थापाले बताएका हुन्।
‘मैले उठाएका राजनीतिक र संगठनात्मक विषयलाई अध्यक्ष लिङ्देनजीले सम्बोधन गर्ने कुनै तत्परता देखाउनु भएन’, अध्यक्ष थापाले भेलामा भने, ‘मैले उठाएका मा सम्बोधन भएमा पार्टीमै बस्छु। यदि ती विषय सम्बोधन नभएमा विकल्प खोज्छु। त्यो अवस्थामा मलाई सबैको साथ सहयोग चाहिन्छ।’
उनले आफ्ना मागको सम्बोधन हुने सम्भावना कम रहेको बताउँदै नयाँ पार्टीको तयारीमा लागेको प्रष्ट जनाउ पनि उनले दिएका छन्।
‘तपाईंहरु छातीमा राखेर निर्णय लिन सक्नुहुन्छु, थापाले भने, ‘मैले उठाएका माग सम्बोधन नभएको अवस्थामा तपाईँहरुले पनि सोच्नुपर्ने हुन्छ। यस्तो अवस्थामा पनि तपाईंहरु पनि निर्णय लिन तयार हुनुहोला।’
उनले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई आएर भेटेको बताउँदै तर माग सम्बोधन गर्ने दिशामा उनी नदेखिएको पनि बताएका छन्।
‘अध्यक्षजीसँग मेरो घरमै सामान्य कुरा भयो। मैले दुई पटक लिखित पत्र बुझाएर उठाएका विषय समाधानतर्फ केन्द्रित भएन’, उनले भने, ‘अध्यक्षको कुरा अनुसार समस्याको निकास दिने सम्भावना रहेन। अहिलेसम्म निकास दिने छाँट नदेखिएकाले अब विकल्प खोज्नै पर्ने भएको छ।’
थापाले उक्त भेलामा सहभागीलाई नयाँ पार्टीको पूर्वभ्यासको संकेत पनि गरेका थिए। ‘अझै पनि मेरा मागहरु गम्भीरतापूर्वक सुनुवाइ भएमा पार्टीमै बसेर काम गर्न सकिन्छ। यदि सम्बोधन नभएमा विकल्पमा जानैपर्छ’, उनले भने।
थापाले बोलाएको उक्त भेलामा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, राजीव पराजुली, कुन्ती शाही, जयन्त चन्द र तोरण बहादुर गुरुङसहितका नेताहरु उपस्थित थिए।
त्यस्तै प्रदेश कमिटी अध्यक्षहरू विक्रमबहादुर थापा र नीलकण्ठ काफ्ले पनि भेलामा सहभागी हुन आएका थिए।

