नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य सुदन किरातीले एमसीसीबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता किरातीले एमसीसी राष्ट्रिय स्वाधीनताको विषय बनेकाले यसलाई संसदको बहुमतले पास गर्नुभन्दा जनमत संग्रहमा लान माग गरेका हुन् ।
एमसीसी अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै यसलाई त्यतिकै पास गर्न नहुने उनको तर्क थियो । नेता किरातीले मुलुकसमेत यसमा विभाजित भएकाले सबै पक्ष सम्मिलित गोलमेच सम्मेलन गर्नुपर्ने पनि बताए ।
नेकपा मालेका महासचिव सिपी मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् । एमसीसी पारित गर्न दबाब दिएर देउवाले देशलाई ठुलो भिडन्तमा लान खोजेको आरोप लगाएका छन् ।
सोमबार रिपार्टर्स क्लब नेपालमा २८ दलसहितको संयुक्त जनआन्दोलनले एमसीसीविरुद्ध गर्ने विरोध प्रदर्शनबारे जानकारी गराउने कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री देउवाले देशलाई द्वन्द्वमा धकेल्ने प्रपञ्च गरिरहेको बताए ।
उनले एमसीसी पारित गर्न खोजे देशमा ठुलो भिडन्त हुने समेत बताए । देशमा भिडन्त भएमा देउवा नै मुख्य जिम्मेवार हुने उनको भनाइ थियो ।
नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक ९२०७४ साल भदौ० मा हस्ताक्षर हुँदा सुरुमै संसद्बाट अनुमोदन गर्ने नलेखिएको बताए । “नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक २०७४ साल भदौमा हस्ताक्षर हुँदा सुरुमै संसद्बाट अनुमोदन गर्ने लेखिएको थिएन,”
उनले भने,“त्यसलाई १ वर्षपछि संसद्बाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँको शीर्ष नेता, कर्मचारीहरुले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडि बढेका छन् । विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरु नेपाल सरकारले पारित गरेको इतिहास छैन ।”
नेता मैनालीले संविधानको प्रावधान नहेरी गर्न नपर्ने कुरालाई पनि थुपारेर अनुमोदन पछिको दुष्प्रभावको बारेमा केही नसोची संसद्बाट अनुमोदन गर्न जुटेको आरोप लगाए ।
एमसीसी सम्झौतामा उल्लेख भएका कुरा कानुन सरह हुने पनि उनले दाबी गरे । एमसीसी सम्झौता नेपालको कानुनभन्दा अमेरिका माथि हुने स्पष्ट भएको उनले जिकिर गरे ।

