नेकपाका शीर्ष नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ दल बदलको तयारीमा लागेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्ड केपी शर्मा ओली नेतृत्वको एमाले प्रवेश गर्ने भएको स्रोतले जनाएको छ ।
प्रकाण्डनिकट स्रोतका अनुसार हप्तादिनपछि उनले औपचारिक रुपमा एमाले प्रवेश गर्नेछन्। एमाले महासचिव शंकर पोखरेल र प्रवक्ता प्रकाण्डबीच आन्तरिक संवाद चलिरहेको हुँदा पार्टी प्रवेशको मिति भने खुलाइएको छैन।
दलबलसहित महासचिव विप्लवको साथ छाड्ने निधो गरेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने बताइएको छ। पछिल्लो समय विप्लव–प्रकाण्डबीच सम्बन्ध बिग्रिएको नेकपाका नेता–कार्यकर्ताहरू नै चर्चा गर्छन्। उनले अघिल्लो महिना विप्लवको कार्यशैलीप्रति असहमति जनाउँदै पार्टी त्याग्ने चेतावनी दिएको स्रोतको दाबी छ।
०६४ को संविधानसभा चुनावमा कालिकोटबाट प्रत्यक्ष निर्वाचित भएका विश्वकर्मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत भएका थिए। तत्कालीन नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्यले प्रचण्ड नेतृत्वको नेकपा ९माओवादी० छाडेपछि उनी पनि वैद्यसँगै बाहिरिएका थिए।
एउटै पार्टीमा रहँदा वैद्य र विप्लवबीच विवाद चुलिँदा प्रवक्ता विश्वकर्माले विप्लवलाई साथ दिएका थिए। लगतै, वैद्यबाट अलग भएर भूमिगत रुपमा छुट्टै संगठन विस्तारमा लागेका उनी पार्टीभित्र विप्लवपछिको दोस्रो बरियातामा रहेका छन्।
निकटवर्तीमाझ प्रकाण्डले बेलाबेला भन्ने गरेका थिए– अब संसदीय राजनीति नै गर्ने भए नाङ्ले पसल खोल्ने होइन, डिपार्टमेन्ट नै चलाउने हो।
अन्ततः हालको अवस्थामा सबैभन्दा ठूलो राजनीतिक दल एमाले रोजेर प्रकाण्डले डिपार्टमेन्ट चलाउने हुटहुटीलाई सतहमै उजागर गर्ने भएका हुन्।
ओली नेतृत्वको अघिल्लो सरकारसँग वार्तामा आएपछि खुल्ला राजनीतिक गतिविधि गर्न थालेपछि उनी एकाएक ‘यु–टर्न’ भएका हुन्। उनी पछिल्लो केही हप्तादेखि विप्लवसँग असन्तुष्ट थिए।

