माघ २६ गते अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकमा टेबुलको तयारी भएको छ । सोही बेला सम्झौता खारेजीको माग गर्दै देशव्यापी आन्दोलन गरिरहेको २२ दलीय मोर्चाले पर्सि २६ गते काठमाडौँमा विरोधसभा गर्ने भएको छ ।
प्रतिनिधिसभाको बैठक बोलाइएको दिन पारेर मोर्चाले बिआईसीसी अगाडि सभा गर्न लागेको हो ।
मोर्चाले पर्सि साढे १२ बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई विरोध र्यालीसहित बानेश्वरस्थित संसद भवन अगाडि विरोध सभा गर्ने जानकारी दिएको छ । सोही दिन एमसीसी सम्झौता टेबल गर्ने तयारीका साथ सरकारले संसद बैठक बोलाएको छ ।
२२ दलीय मोर्चामा विप्लव नेतृत्वको नेकपा,मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीलगायत संसद बाहिर रहेका वामपन्थी शक्तिहरु सहभागी छन् ।
कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।
बानेश्वरस्थित संसद सचिवालयमा भेट गर्दै कानूनमन्त्री बडूले एमसीसीको विषय संसदमा टेबुल गर्नुपर्ने बताएका हुन् । यसका साथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानूनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएको बताइएको छ ।
एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ । उक्त समयावधिसँगै नेताहरूले यस विषयमा छलफल तथा परामर्श बढाएका छन् ।

