एमसीसी टेबुल नगर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाको एमसीसी पास गर्ने प्रयासमा धक्का लागेको छ । सभामुख अग्निप्रसाद सापकोटा उनका लागि बाधक बनेका हुन् ।
आजको संसद बैठकमा जसरी पनि एमसीसी सम्झौता अनुमोदनका लागि टेबुल गर्ने देउवाको प्रयासमा सभामुख सापकोटा तयार नहुने भएपछि प्रतिनिधि सभाको बैठक नै २०७८ फागुन २ गते मात्रै बस्ने भएको छ ।
एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबुल गर्ने पक्षमा नदेखिएका सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउन भने कांग्रेसका नेताहरु तयार देखिएका छैनन ।
सभामुख सापकोटाले भने कुनै हालतमा पनि टेबुल नगर्ने अडान लिएका छन् । माओवादी अध्यक्ष प्रचण्डले संसदमा टेबुल गर्न आग्रह गरेपनि सभामुख सापकोटाले टेबुल नगर्ने मूड बनाएको उनीनिकट स्रोतले बताएको छ ।
सभामुख सापकाटोले बरु पद छोड्न तयार रहेको तर राष्ट्रिय सहमति विना एमसीसी टेबुल गर्ने पक्षमा नरहेको दाबी स्रोतले गरेको छ ।
सभामुख सापकोटाले एमसीसी सम्झौता टेबुल गर्नका लागि तीन वटा समस्या उल्लेख गर्ने गरेका छन् । सभामुखको राजीनामा मागेर एमालेले संसद अवरोध गरिरहेको छ । उनीनिकट स्रोतका अनुसार, पहिला कुरा एमालेले संसद खोल्नुपर्ने अडान राखेका छन् । दोस्रो राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा बोलेका छन् ।
विवादास्पद र दीर्घकालीन महत्व राख्ने विषय भएकोले राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा उभिएका छन् । त्यसैगरी प्रक्रियागत समस्याको पनि टुंगो लगाउनुपर्ने पक्षमा सभामुख सापकोटा रहेका देखिएका छन् ।
संसदबाट अनुमोदन गर्ने भएपनि दुईतिहाई मतले अनुमोदन गर्ने कि सामान्य बहुमतले भन्ने प्रष्टता नभएको र एमसीसीजस्ता सम्झौताका लागि नयाँ कानून चाहिने तर्क पनि सभामुख सापकोटाको रहेको छ । नयाँ कानून चाहिने र दुईतिहाई मत चाहिने कुरा एकीकृत समाजवादीले पनि तर्क गरिरहेको छ ।
एकीकृत समाजवादीले महाकाली सन्धिको उदाहरण दिएर दुईतिहाईको पक्षमा मत राखेको स्रोत बताउछ । त्यसैले, अहिले सभामुख सापकोटा पद माया मारेर भएपनि एमसीसी टेबुल नगर्ने अडानमा रहेको माअोवादी स्रोतको दाबी छ ।

