कक्षा १२ को परीक्षा आगामी जेठ महिनामा सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने जनाएको हो ।
बिहीबार बोर्डका अध्यक्ष महाश्रम शर्माले केही दिनमा परीक्षा तालिका सार्वजनिक गर्ने बताए । कक्षा ११ को परीक्षासम्बन्धी भने कुनै निर्णय नभएको उनको भनाइ छ ।
त्यसैगरी एसईई परीक्षा पनि बोर्डको समन्वयमा प्रदेश सरकारले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको पनि शर्माले जानकारी दिए ।
एसईई परीक्षा वैशाख ९ देखि २० गतेसम्म गर्ने तालिका प्रकाशित भइसकेको छ ।
यस्तै, त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।
कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

