सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघसंस्थाहरुमा आज एक नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पर्वतको फलेवास नगरपालिकाले नगरसभा सम्पन्न भएको उपलक्ष्यमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
नगरपालिकाले दशौं नगरसभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघसंस्थाहरुमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना जारी गरेको छ ।
यद्यपि, मेयर पदमपाणि शर्माले भने दस्तावेजहरू बनाउन कर्मचारी खट्नु परेकाले अत्यावश्यकबाहेकका सेवा एक दिनका लागि बन्द गरिएको भन्दै यसलाई सार्वजनिक बिदाका रूपमा नबुझिदिन आग्रह गरेका छन् ।

यस्तै, ललितपुर महानगरले सहरी सडक स्तरोन्नति गर्न ठेकेदार छनोट गरेको छ । ललितपुर महानगरभित्रका सडकको स्तरोन्नति र कालोपत्रे गर्न महानगरले १६ करोड ३८ लाख रुपैयाँ रकम कबोल गर्ने दुई ठेकेदार कम्पनीको बोलपत्र स्वीकृत गर्न लागिएको सार्वजनिक सूचना जारी गरेको हो ।
पहिलो प्याकेजका लागि पीआररसप्तपथरदरमा जेभीलाई ९ करोड ६३ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी छ । दोस्रो प्याकेजका लागि सीएमरपवित्ररमहर्जन जेभीसँग ६ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ ।
ललितपुरको सहरी क्षेत्रमा पनि अधिकांश ठाउँमा साँघुरा सडक संरचना छन् । बढ्दो जनसंख्या र सवारी साधनको चापले सडक अस्तव्यस्त हुन थालेपछि महानगरले सडक स्तरोन्नति गर्न लागेको हो ।

