प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसिसीको विषयमा पहिला आफूहरू निर्णय गर्न सुझाव दिएका छन् ।
बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा ओलीले प्रचण्डलाई पहिले आफू निर्णय गर्न सुझाव दिएका हुन् ।
‘एमसिसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ’,
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाल ओलीको भनाइ उधृत गर्दै भने, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ ।
अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधि सभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्, नेकपा एमाले त निर्णय गरिहाल्छ ।’
बिहीबार मात्रै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले टेलिफोन गर्दै शीर्ष नेताहरूलाई एमसिसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा गर्न भनेका थिए ।
उनले प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूलाई प्रतिबद्धता पूरा नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने चेतावनीसमेत दिएका छन् ।
२८ फेब्रुअरीसम्म नेपालले एमसिसी सम्झौता अनुमोदन नगरेमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने उनको भनाइ थियो । अमेरिकी सहायकमन्त्रीको यस्तो चेतावनीपछि प्रधानमन्त्री र सत्ता गठबन्धनमा रहेका दलहरूमाथि थप दबाब बढेको छ ।

