सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जसपा लगायतका दलहरु फुटको बिन्दुमा लाग्न थालेको सकेंत देखिएको छ प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धन टुटाउन लागिपरेका छन् ।
ओलीले कांग्रेस नेता डा. शेखर कोइरालालाई सत्ता गठबन्धन तोडे राष्ट्रपति बन्न सहयोग गर्ने प्रस्ताव राखेको चर्चाले राजनीतिमा तरंग छाएको छ । मंगलवार ओलीनिवास बालकोटमा भएको भेटमा ओलीले यस्तो प्रस्ताव राखेको उच्च स्रोतले बतायो ।
स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा ओली सत्तारूढ गठबन्धन तोड्ने प्रयासमा देखिन्छन् । सोही प्रयासअनुरुप गठबन्धन तोड्न सहयोग गरे कोइरालालाई राष्ट्रपति बन्ने अफर ओलीले राखेको स्रोतको दाबी छ ।
‘आदारणीय नेता शेखर कोइरालालाई ओलीले राष्ट्रपति बनाउने अफर राख्नुभएको रहेछ,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘त्यसको पूर्व शर्तका रूपमा सत्तारूढ गठबन्धन तोड्न सहयोग गर्नुपर्ने उहाँको आशय थियो ।’
राष्ट्रपतिको ‘ललीपप’ पाएपछि कोइराला त्यही अनुसार हिंड्न थालेका छन् । उनले बिहीवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरे ।
प्रचण्डसँगको भेटमा कोइरालाले निर्वाचनमा गठबन्धन नहुने अडान लिएका थिए ।ओलीले सत्तारूढ गठबन्धन तोड्न हरसम्भव प्रयास गरिरहेका छन् ।
उनले कहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धन तोडे एमसीसी पास गर्न सहयोग गर्ने प्रस्ताव राख्ने गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गठबन्धन तोडेर आए चुनावमा ४० प्रतिशत भागबण्डा दिने प्रस्ताव राख्ने गरेका छन् ।
गठबन्धन तोड्नु ओलीको पहिलो प्राथमिकता हो । उनले गठबन्धन तोड्नकै लागि कांग्रेसका नेता शेखर कोइरालासमक्ष ठूलै रणनीतिक अफर गरेका हुन् ।
बिहीवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिवास पुगेर कोइरालाले चुनावमा गठबन्धन गर्न नसकिने बताए । ओलीले चालेको ‘शेखर गोटी’ सफल होला या नहोला, तर गठबन्धन तोड्ने ओलीको प्रयास जारी छ ।
गठबन्धन तोडेर ओलीले माओवादी केन्द्रसँग तालमेल गर्न खोजेका छन् । यो ओलीको ‘प्लान बी’ हो । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा फाटो आएपछि ओलीले प्रचण्डलाई लिएर आगामी चुनावमा ७४ सालकै इतिहास दोहोर्याउन चाहेका छन् ।
प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोस्ती तोड्दै नेपाललाई घर न घाटको बनाउने ओलीको तयारी रहेको छ ।
स्थानीय तहको चुनाव घोषणालगत्तै राजनीतिक दलहरू चुनावी तयारीमा लाग्न शुरू गरेका छन् । चुनावी गठबन्धन र तालमेलको प्रश्न यतिबेला राजनीतिक वृत्तमा हाबी बनेको छ ।
सत्तारूढ गठबन्धनलाई चुनावी तालमेलसम्म पुर्याउने भन्दै गत असारमा कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, त्यसपछि एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राजमोको गठबन्धन सरकार बनेको थियो ।

